२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोट्रयाक्ट डिष्ट्रिकको डिआरआरमा प्रकाश शर्मा निर्वाचित

मंगलवार , माघ १५, २०८१

बुटवल, १५ माघ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानको डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) पदमा रुपन्देहीका प्रकाश गैरे शर्मा निर्वाचित भएका छन् । रुपन्देहीको बुटवलमा भएको १७ औ राष्ट्रिय सम्मेलनबाट शर्मा निर्वाचित भएका हुन् ।

निर्वाचन भएको २१ दिनपछि शर्मा निर्वाचित भएको रोटरी इन्टरनेसनलले प्रमाणीकरण गरेको हो । १२ वर्षदेखि रोट्रयाक्ट अभियानमा आबद्ध शर्मा रोट्रयाक्ट क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष हुन् । शर्मा युनाइटेड अजोड इन्स्योरेन्सका लुम्बिनी प्रदेशका नायब प्रदेश प्रमुख हुन् । उनी लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ बुटवलका सल्लाहकार र निप्स बुद्धभूमि च्याप्टरका महासचिव पनि हुन् । उनी मिडियाकर्मी समेत हुन् ।

१८ वर्षदेखि ३५ वर्षको उमेर समूहका युवा आबद्ध रोट्रयाक्ट डिष्ट्रिक्ट नेपाल–भुटान नेपालको एक मात्रै क्लब हो । क्लबका देशभर १७० भन्दा बढी शाखाहरू र करिब ७ हजार सदस्य छन् । नवनिर्वाचित डिआरआर शर्माले युवाहरुको नेतृत्व विकास, बालबालिकाको शिक्षा, मिडिया साक्षरता र दैवी प्रकोपका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । डिआरआर निर्वाचित शर्माले एक वर्षपछि मात्रै पदाधिकारी र कार्यसमिति मनोनित गर्ने रोट्रयाक्ट डिष्ट्रिक्टको नियम रहेको बताए । १८ देखि ३५ वर्षको उमेर समूहका युवाहरू मिलेर बनेको रोट्रयाक्ट संस्थाको देशभर १७० भन्दा बढी शाखाहरू रहेका छन् भने करिब ७ हजार सदस्य रहेका छन् ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न १७ औं राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएको हो । सम्मेलनमा ‘युवा, राजनीति र अबको देश शीर्षकको प्यानल सेसन आयोजना गरिएको थियो । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको यो सेसनमा सांसद ज्ञानेन्द्र शाही, ठाकुर गैरे र संजय कुमार गौतमले युवाहरूका लागि राजनीतिक नेतृत्वका चुनौती र अवसरहरूबारे गतिशील छलफल गरेका थिए । उनीहरूले शासन, नीतिनिर्माण र समाज परिवर्तनमा युवाको सक्रिय सहभागीताको महत्वमा जोड दिए ।

त्यसै गरी ‘माइन्ड म्यानेजमेन्ट’ प्यानल सेसनमा आइएस्कन नेपालका सचिव रूपेश्वर गौर दास, आध्यात्मिक प्रशिक्षक चैतन्य कृष्ण र मानसिक स्वास्थ्य उत्प्रेरक श्रेया गिरीले भावनात्मक दृढता र मानसिक शान्तिको महत्वबारे प्रस्तुत गरे । उक्त सेसनमा तनाव व्यवस्थापन, आत्मशान्ति र मानसिक सन्तुलन कायम गर्ने विधिहरूबारे जानकारी दिइएको थियो ।

सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बैंकर सिए मनोज ज्ञवालीले युवा नेतृत्व विकास र युवा सम्भाव्यताका विषयमा आफ्ना विचार राखे ।  सम्मेलनमा देशभरका १७० भन्दा बढी क्लबका करिब १ हजार २ सय जना रोट्रयाक्टर्सले सहभागीता थियो । रोट्रयाक्ट नेपालले युवा नेतृत्व विकास, शिक्षा क्षेत्र र प्राकृतिक प्रकोपका समयमा सहयोग गर्दै आएको छ ।