
मंगलवार , माघ १५, २०८१
तुलसीपुर, १५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए । ‘प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ । खेलका विविध विधाहरु छन् । ती विधाहरुलाई समान रुपमा प्रदेश सरकाले प्राथमिकतामा राखेर कार्यक्रमहरुमा जोड दिएको छ’उनले भने,‘खेल क्षेत्रबाटै देशको नाम चिनाउन सकिएको छ । खेलाडीहरुको आकर्षण बढ्दो छ । सरकारले यो आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरालाई प्राथमिकतामा राखेको छ भने खेलाडीहरुको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार पारेको छ।’
मुख्यमन्त्री आचार्यले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकताभित्र पर्ने उल्लेख गरे । उनले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभइ आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यवसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे । ‘नेपालमा आयोजना भएका खेल प्रतियोगितामा विदेशबाट पनि मानिसहरु हेर्न आउनुभयो । यसले खेल पर्यटनको सम्भावनालाई जागृत गरेको छ’उनले भने,‘आर्थिक समृद्धिको आधारको रुपमा खेल क्षेत्रलाई सरकारले लिएको छ ।’
उनले खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले खेलकुदले युवाहरूलाई अनुशासन, परिश्रम र प्रतिष्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको समेत बताए।मुख्यमन्त्री आचार्यले खेलकुदलाई पर्यटन प्रवद्र्धनसँग जोडेर स्थानीय तथा अन्तर्राष्ट्रियस्तरमा आकर्षणको केन्द्र बनाउने योजना अघि सारिएको जानकारी दिए ।
प्रदेश सरकारले स्थानीय खेल प्रतिभाहरूको पहिचान र उनीहरूको उचित व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्दै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्य लिएको छ । यो प्रतियोगिता खेलाडीहरूको सीप र आत्मविश्वास अभिवृद्धिका लागि महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख (मेयर) टिकाराम खड्काको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, विद्यार्थी लगायतको सहभागीता थियो । उद्घाटन सत्रमा विद्यार्थीहरुले विभिन्न झाँकी समेत प्रदर्शन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij