२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रूपन्देही सुपर लिग : तिरुपतिद्वारा तिलोत्तमा ६ विकेटले पराजित

बुधवार , माघ १६, २०८१

भैरहवा, १६ माघ । इन्द्रजित यादवको शानदार बलिङ र तुलबहादुर थापाको अविजित अर्धशतकका मद्दतमा भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा तिरुपति क्रिकेट क्लबले सहज जित हात पारेको छ । तिरुपतिले तिलोत्तमा क्रिकेट एकेडेमीमाथि ६ विकेटको जीत निकालेको हो ।

जीतका लागि तिलोत्तमाले दिएको १ सय ४४ रनको लक्ष्य तिरुपतिले २५ ओभर ३ बलमा ४ विकेटको नोक्सानीमा १ सय ४५ रन बनाउँदै सहजै पूरा गर्यो । उसको जीतमा तुलबहादुर थापाले ३९ बलमा ४ चौका र ६ छक्काको मद्दतमा नटआउट ६१ रन बनाए । यस्तै, बसिर अहम्मदले ४७ र सन्दीप मौर्यले २२ रन बनाए । बलिङमा तिलोत्तमाका सागर भण्डारी र आशुतोष पाण्डेले समान १–१ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ३२ ओभरमा ३१ ओभर २ बल खेल्दै अलआउट भई १ सय ४३ रन बनायो । उसका लागि सन्दीप यादवले ५९, कृष्ण कार्कीले ३५ र रोशन घिमिरेले १६ रन बनाए । तिरुपतिका इन्द्रजित यादवले ५ ओभर २ बल बलिङ गर्दै २१ रन खर्चिएर ६ विकेट लिए । यस्तै, बसिर अहम्मदले २ र तुलबहादुर थापाले १ विकेट हात पारे । खेलमा इन्द्रजित यादव प्यलेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।