२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : न्यू होराइजन १६७ रनले विजयी

बुधवार , माघ १६, २०८१

भैरहवा, १६ माघ । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लबले फराकिलो जीत निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा उसले सैनामैना क्रिकेट क्लबमाथि १ सय ६७ रनको जीत निकाल्यो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित ३७ ओभरमा ३४ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २ सय १२ रनको बलियो योगफल बनायो । उसका लागि निश्चल ज्ञवालीले ९८, आरिफ खानले २८, विप्रसन केसीले १७ र सहिन खानले १६ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेल र ऋदम सुवेदीले ३–३, ईश्वर क्षेत्रीले २ तथा गोपाल शर्मा र प्रदीप सुवेदीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैना १३ ओभर १ बलमा सबै विकेट गुमाएर ४५ रनमै समेटियो र लज्जास्पद हार व्यहोर्यो । उसका लागि महेश रानाले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले फराकिलो अन्तरमा हार व्यहोर्यो । बलिङमा न्यू होराइजनका प्रिन्स पालले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । 

यस्तै, महेश भरले ३, सहिन खान, निर्मल गुरुङ र विप्रसन केसीले समान १–१ विकेट लिए । खेलमा निश्चल ज्ञवाली प्लेयर अफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।