२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

एमाले लुम्बिनी प्रदेशले बनायो संगठन सुदृढीकरणको नयाँ नीति

बुधवार , माघ १६, २०८१

  • 862
    Shares
  • 862
    Shares
  • रूपन्देही, १६ माघ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विकासको नयाँ नीति बनाएको छ । बाँकेको नेपालगंजमा सम्पन्न दुईदिने पूर्ण बैठकले पार्टी केन्द्रले बनाएको जरा अभियान अन्तर्गत तीनमहिने अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ । 

    बैठकमा ६ वटा समूहमा विभाजन गरी पार्टी सञ्चालनमा देखिएका समस्या, सुधारका उपाय, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजना तयार गरेको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । बैठकमा पार्टीका सबै जिल्ला तथा पालिकास्तरमा प्रचार डेस्क स्थापना गर्ने र कार्यकर्तालाई विभिन्न क्षेत्रमा सेवा प्रवाहका लागि विशेषज्ञ डेस्क बनाउने निर्णय गर्नुका साथै, स्थानीय तहबाटै विकास आयोजना छनोट गर्ने विधि निर्माण गरी पार्टीका इन्चार्जहरू नागरिकका समस्यासँग प्रत्यक्ष जोडिने नीति अख्तियार गरिएको जनाइएको छ । 

    त्यसै गरी भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, विपन्न नागरिकका लागि आधारभूत घर निर्माण गर्ने अभियान अघि बढाउने, विकासका कामहरूलाई प्रभावकारी प्रचार गर्ने तथा प्रत्येक विकासे संस्थाले गरेको कार्यको स्वेतपत्र जारी गर्ने व्यवस्था मिलाउने कुरामा बैठकले जोड दिएको छ । त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक उपाय अपनाइने तथा संगठन निर्माणलाई अझ प्रभावकारी बनाइने निर्णय गरिएको छ ।

    बैठकमा पार्टीको केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले अहिले सामाजिक अराजकताले चुनौती सिर्जना गरेको भन्दै योजनाबद्ध आक्रमणको सामना गर्न सबै कार्यकर्ता दृढ भएर लाग्नुपर्ने बताइन्। पार्टी निर्माण भावनात्मक रूपमा नभइ एजेण्डामा आधारित भएर गर्नुपर्ने उनको भनाइ थियो ।

    एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टीले २५ वर्षभित्र नेपाललाई समृद्ध बनाउने तथा एमालेलाई राष्ट्रिय शक्ति बनाउने संकल्प लिएको बताए । उनले पार्टीलाई सशक्त बनाउन पुराना कार्यकर्ताको सम्मान गर्दै संगठन निर्माण गर्ने, सामाजिक सञ्जालको सदुपयोग गर्ने र वडास्तरमा जनसेवा केन्द्रित अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे ।

    प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारलाई मात्र दोष लगाउने प्रवृत्ति त्यागेर काम गर्ने संस्कृति विकास गर्नुपर्ने बताए । उनले वार्षिक योजनासँगै त्रैमासिक तथा चौमासिक समीक्षाको आवश्यकतामा जोड दिए । संगठन विस्तारका क्रममा प्रभावशाली युवा नेतृत्वलाई अगाडि ल्याउनुपर्ने उनको सुझाव थियो । बैठकले विभिन्न जिल्लाबाट नयाँ प्रदेश सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ ।

    २९ जना सदस्यमा मनोनित

    नयाँ प्रदेश कमिटी सदस्यहरूमा दाङबाट कृष्ण भुषाल, गोविन्द आचार्य, रामप्रसाद गैरे, वृहस्पति श्रेष्ठ, रोल्पाबाट गंगाराम बुढा, रूपन्देहीबाट जोगलाल विक, युवराज घिमिरे, मधुकला कुँवर, अब्दुल रहमान, कपिलवस्तुबाट विश्राम चौधरी, लंक हमाल, भगवानदास चौधरी, अब्दुल रहमान खान,  बर्दियाबाट टिका सम्सेली, रामसोहन चौधरी, बाँकेबाट भुमिसरा धिताल, रामकुमार दिक्षित, प्युठानबाट धनबहादुर रायमाझी, तुलसी शर्मा, पुरन गुरुङ, रुकुमपूर्वबाट भावना बुढाथोकी अर्घाखाँचीबाट इश्वरा पोखरेल, सरोज भुसाल, सिद्दि भुसाल, गुल्मीबाट सावित्रा आचार्य, चेतन बस्नेत, चिन्तामणि पाण्डेय, पाल्पाबाट नारायण जिसी र नारायण  आचार्य मनोनित भएका छन् ।