
बिहिवार , माघ १७, २०८१
भैरहवा, १७ माघ । तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा जीत हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा उसले बुटवल राइनोज क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै जीत हात पारेको हो ।
जीतका लागि पाएको १ सय ८ रनको लक्ष्य तिरुपतिले २४ ओभर २ बलमा ६ विकेट गुमाएर १ सय ११ रन बनाउँदै पूरा गर्यो र जीत निकाल्यो । उसको जीतमा एजाजुल हकले ३३, बसिर अहम्मदले २२, आनन्द गौडले २० र तुलबहादुर थापाले अविजित ११ रन जोडे । बलिङमा बुटवल राइनोजका सुप्रिम कँडेलले ३ तथा शिव कुँवर र इमरान शेषले १–१ विकेट लिए ।
यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ४१ ओभरमा ३२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७ रनको सामान्य लक्ष्य खडा गरेको थियो । उसका लागि इमरान शेषले २५, विपिन विक्रम शाहीले २१ र सुशान्त सिंहले १५ रन बनाए ।
बलिङमा तिरुपतिका इन्द्रजित यादवले ३, बसिर अहम्मदले २ तथा तुलबहादुर थापा, सन्दीप मौर्य र आकाश त्रिपाठीले समान १–१ विकेट लिए । खेलमा तिरुपतिका बसिर अहम्मद प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे । बसिर अहम्मदलाई जयसवाल सेवा समिति सिद्धार्थनगर र रुपन्देही नागरिक समाजका अध्यक्ष अमित कुमार गुप्ताले पुरस्कार प्रदान गरेका थिए ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij