
बिहिवार , माघ १७, २०८१
भैरहवा, १७ माघ । ईलाका प्रशासन कार्यालय मझगावाँ रुपन्देहीमा चोरी भएको छ । उक्त कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्र सेवाको कोठा नम्बर २ को ताला तोडेर चोरी भएको कार्यालय प्रमुख यज्ञराज पोख्रेलले बताए । गएराती अज्ञात व्यक्तिले ताला तोडेर ल्यापटप तथा क्यामेरा चोरेर लगेको कार्यालय प्रमुख पोख्रेलले बताए । उनले भने, ‘कार्यालयमा सिसिटीभी क्यामेरा छैन । त्यसैले चोरी गर्न आएका कुनै व्यक्तिको पहिचान खुलेको छैन । बिहान कर्मचारी आएपछि ताला तोडिएको अवस्थामा देख्नासाथ खबर गरिएको हो ।’
कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचयपत्र, मधेशी, दलित लगायत प्रमाणितका सेवाहरु प्रदान हुँदै आएको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले चोरीको घटनाबारे अनुसन्धान सुरु भएको बताए । उनले भने, ‘ईलाका प्रशासन कार्यालय मझगावाँमा सिसिटीभी क्यामेरा छैन । नजिक रहेका अन्य कार्यालयमा जडान भएको क्यामेराको सहायतासहित विभिन्न प्रविधिको प्रयोग गरी कडा अनुसन्धान थालिएको छ । ’
उक्त घटनामा एक थान एचपी कम्पनीको ल्यापट र एक थान क्यानान कम्पनीको क्यामेरा चोरी भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij