
बिहिवार , माघ १७, २०८१
बुटवल, १७ माघ । एलुम्नाइ अफ न्यू होराइजन (भुतपूर्व विद्यार्थी संघ) को आयोजनामा बिहीबार फेट एण्ड रियुनियन कार्यक्रम सम्पन्न भएको छ । वि.सं. २०४९ सालदेखि न्यू होराइजन माध्यमिक विद्यालयमा सुरु भएको एसएलसी परीक्षा दिन पाउने अवसर अन्तर्गत पहिलो ब्याचका विद्यार्थी राजीव श्रेष्ठको नेतृत्वमा एलुम्नाई स्थापना भएको थियो । एलुम्नाईले प्रत्येक दुई वर्षमा पुराना विद्यार्थीहरुलाई जमघट गराइ रमाइलो गर्ने र विद्यार्थी एकताको सन्देश दिने कार्यक्रम गर्दै आएको छ ।
बिहीबार (आज) भएको कार्यक्रममा २०५६ साल यताका विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै २०५६ को एसएलसी ब्याचको २५ औं वर्ष मनाइएको थियो । कार्यक्रममा गायिका समीक्षा अधिकारीले प्रस्तुती दिएकी थिइन् । त्यस्तै कार्यक्रममा विद्यालयका वर्तमान विद्यार्थी र उनीहरुको अभिभावक सहभागी हुने गरी प्यारेन्ट्स किड्स शो आयोजना गरिएको थियो । जसमा निधि श्रेष्ठ प्रथम, अर्विन भुसाल दोस्रो र समाइरा अर्याल तेस्रो स्थान ओगट्न सफल भए । उनीहरुले नगद पुरस्कार साथै ट्रफी प्राप्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि न्यू होराइजन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले भुपु विद्यार्थीहरुले विद्यालयको नाम उचो पार्दै आ–आफ्नो क्षेत्रमा गरिरहेको कामले विद्यालय परिवारलाई खुसी मिल्ने गरेको बताए । उनले एलुम्नाई स्थापनाले पुराना विद्यार्थी बेलाबखतमा विद्यालयमा आउने र पुराना याद ताजा गर्दै गुरुहरुसँग भेटघाट गर्ने परिपाटीले विद्यार्थी र गुरुबीचको सम्बन्धलाई पनि जीवित राख्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि न्यू होराजन माविका प्राचार्य एवं एलुम्नाइ अफ न्यू होराइजनका संरक्षक लोकनाथ उपाध्यायले आफूले अध्यापन गरेका सुरुदेखिका विद्यार्थीलाई आफूहरुसँग भेट गराइरहने माध्यम बनेको एलुम्नाइ विद्यालयको अभिन्न अंग भएको जनाए । एलुम्नाइ अफ न्यू होराइजनका अध्यक्ष उमेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा एलुम्नाइका सल्लाहकारहरु राजीव श्रेष्ठ, नारायण थापा, संजय ज्ञवाली, निरज लाकोल लगायत एलुम्नाइका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij