२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : तिलोत्तमाको जीत, कृष्णले लिए ६ विकेट

शुक्रवार , माघ १८, २०८१

भैरहवा, १८ माघ । कृष्ण कार्की चम्किँदा तिलोत्तमा क्रिकेट एकेडेमीले न्यू होराइजन क्रिकेट क्लबलाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा जीत हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले न्यू होराइजनमाथि १ सय ११ रनको फराकिलो अन्तरले जीत निकाल्यो । कृष्ण एक्लैले ६ विकेट लिँदा तिलोत्तमाको जीत सहज भयो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमा ४० ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७८ रन बनायो । उसका लागि सन्दीप यादवले ५५ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले । यस्तै, कृष्ण भुसालले २२, मनिष थापाले १७, कृष्ण कार्कीले १५ र अमन बोहराले १० रन बनाए । बलिङमा न्यू होराइजनका प्रिन्स पालले ३, महेश भरले २ तथा सहिन खान, विप्रसन केसी, सिद्धार्थ ढकाल र प्रदीप साहनीले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यू होराइजन २३ ओभर ५ बलमा सबै विकेट गुमाएर ६७ रनमै समेटियो र फराकिलो अन्तरले लज्जास्पद हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न तिलोत्तमाका कृष्ण कार्कीले ८ ओभर ५ बलमा ३ मेर्डनसहित १४ रन खर्चेर ६ विकेट लिए । यस्तै, विपिन खत्री, आशुतोष पाण्डे र सागर भण्डारीले समान १–१ विकेट लिए । विप्रसन केसीले ३० र प्रदीप साहनीले १० रन बनाए पनि न्यु होराइजनका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कृष्ण कार्की प्लेयर अफ द म्याच भइ एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।