२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

रुपन्देहीको सेमलारमा महायज्ञ हुँदै

आइतवार , माघ २०, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • बुटवल, २० माघ । गरीब तथा जेहेन्दार बालबालिकाको शैक्षिक तथा नैतिक विकासमा सहयोग पुर्याउने उद्देश्यले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ स्थित सेमलारमा श्रीमद् भागवत धन धान्यान्चल ज्ञान महायज्ञ–२०८१ आयोजना गरिने भएको छ । आगामी फागुन ४ गतेदेखि सुरु हुने महायज्ञमा दैनिक पूजाआजा, हवन, आरती लगायतका धार्मिक कार्यहरु सञ्चालन गर्नुका साथै पण्डित भाष्कर कमलनयन गौतमले कथा प्रवचन गर्ने कार्यक्रम छ । 

    महायज्ञ आयोजक समितिद्धारा शनिबार यज्ञस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा उपसमिति संयोजकहरुलाई जिम्मेवारी प्रदान गर्ने कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले धार्मिक कार्यमार्फत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले आयोजित महायज्ञले आफ्नो लक्ष्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गरे ।

    महायज्ञ सञ्चालनका क्रममा र पूर्वाधार निर्माणका क्रममा स्थानीय जनसहभागीताको भूमिका महत्वपुर्ण हुने चर्चा गर्दै नगरप्रमुख पाण्डेयले बालबालिकालाई लक्षित गरी सुरु गरिएको सो कार्यक्रमले बुटवललाई बालमैत्री बनाउने उपमहानगरको लक्ष्य पूरा गर्न सहयोग गर्ने उल्लेख गरे । 

    सो अवसरमा प्रमुख कथावाचक पण्डित कमलनयन गौतमले सभ्य समाज निर्माणका लागि आध्यात्मिक तथा धार्मिक गतिविधिहरुको भूमिका महत्वपुर्ण हुने दावी गर्दै शिक्षाबाट कोही पनि बालबालिका वञ्चित नहुन भन्ने उद्देश्य राखेर राष्ट्रिय परोपकार महासंघले अभियान सञ्चालन गरिरहेको जानकारी दिए । आफूले सुरु गरेको सो अभियानलाई सघाउन आग्रह गर्दै अभियान सफल भएमा राज्य पक्षलाई पनि ठूलो फाइदा उनको भनाइ थियो ।

    राष्ट्रिय परोपकार महासंघ, रुपन्देहीले आयोजना गरेको सो महायज्ञ आयोजक समितिका अध्यक्ष हरिध्वज मल्ल, महासचिव बुद्धि प्रसाद ढकाल लगायतले फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञ सफल पार्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोगका लागि सबैलाई आग्रह गरे । महायज्ञबाट संकलित नगद तथा भौतिक सामग्रीबाट बालबालिकाको शैक्षिक विकासका लागि योगदान पुर्याउने किसिमका कार्यक्रमहरु सञ्चालन गरिने उनीहरुले बताए ।