
आइतवार , माघ २०, २०८१
भैरहवा, २० माघ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमीमा) सरस्वती पूजाका अवसरमा यही माघ २१ गते सोमबार नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ ।
वरिष्ठ लेखक तथा साहित्यकार जंगबहादुर शाहको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले विद्यालयका साहित्य अनुरागी विद्यार्थीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले जानकारी दिए । ‘साहित्य समाजको ऐना हो । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । यही कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो, ’प्राचार्य बुढाथोकीले भने।
कार्यक्रममा मूलत पुस्तक लेखन, कथा लेखन र पुस्तक प्रकाशनका विषयमा विद्यार्थी र साहित्यकारबीच छलफल हुने विद्यालयले जनाएको छ । महोत्सवमा नेपाली साहित्यमा युवाको भूमिका, लेखक कसरी बन्ने, आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कवितावाचन कला शीर्षकमा साहित्यकार र विद्यार्थीबीच परिचर्चा गरिने विद्यालयका व्यवस्थापक उमेश कंडेलले जानकारी दिए । अहिलेका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्छन् । उनीहरुका श्रृजनाको प्रदर्शनी पनि यो महोत्सवको विशेष आकर्षण रहने विद्यालयले जनाएको छ ।
पठन संस्कृतिप्रति पनि ब्रिटिस ग्रामर स्कुल रुपन्देहीका बालबालिका उत्साहित छन् । स–साना विद्यार्थीले आफूले पढेका पुस्तकहरुको रिभ्यु समेत उक्त महोत्सवमा हुनेछ ।
नमस्ते एकेडेमीकी कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रशान्त चौधरीले सृजना गरेको पुस्तक The voice within me , कक्षा ७ का विद्यार्थी समशीतोष्ण अर्यालको Echo of Dragon´s flame र प्राथमिक तहका ३२ जना विद्यार्थीको संयुक्त पुस्तक Whispers of young minds को विमोचन र उक्त पुस्तकहरुको समीक्षा समेत महोत्सवमा हुनेछ ।
कार्यक्रममा लेखक र बाल साहित्यकारहरुबीच अन्तरक्रिया हुनेछ । साहित्यिक महोत्सवमा विद्यार्थीका रुची र स्तरअनुसारका पुस्तकको प्रदर्शनी हुने विद्यालष्का संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए । नेपाली संस्कृति, कला, साहित्य, भेषभुषा र परम्पराको जर्गेना गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यकममा सरस्वती बन्दनासहित विविध नेपाली लोक संस्कृतिको पनि प्रदर्शनी रहनेछ ।
कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका साहित्यप्रेमी बालबालिकाले आ–आफना बाल प्रतिभाहरु प्रस्तुत गर्न यो महोत्सव उक्त दिन अक्षरारम्भ गर्ने तथा सिट बुकिङ गर्ने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिएको विद्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij