२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवको रुपमा मनाइँदै, सोमबार सार्वजनिक विदा

आइतवार , माघ २०, २०८१

दाङ, २० माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । माघ २१ गते सोमबार (भोली) प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिदैछ । प्रदेश प्रमुखको विशेष उपस्थितिमा मूल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजासहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिनेछन् । 

त्यसै गरी स्थापना दिवसलाई भव्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीनदिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावली गरी मनाउने कार्यक्रम रहेको छ । शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ । झाँकीहरुकोबीचमा प्रतिष्पर्धा गरिने, प्रथम हुनेलाई रु.२० हजार, दोस्रो हुनेलाई रु.१५ हजार र तेस्रो हुनेलाई रु. १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । प्रदेश सरकारले दुईवटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।