
आइतवार , माघ २०, २०८१
भैरहवा, २० माघ । माइती नेपाल आवधिक गृह भैरहवा र ईलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त पहलमा ६ जना किशोरीहरुलाई बेलहिया नाकाबाट उद्वार गरिएको छ । भारतको राजस्थान जोतपुरमा काम लगाइदिने भन्दै लैजादै गरेको अवस्थामा ती किशोरीहरुलाई उद्वार गरी भैरहवास्थित माइती नेपालको कार्यालयले अभिभावकलाई जिम्मा लगाएको छ ।
रुपन्देहीसहित कपिलवस्तु, गुल्मी, सिन्धुली लगायतका जिल्लाका किशोरीहरुलाई आफन्त बनेर १० हजार भारतीय रुपैयाँ तलब पाउने भन्दै भारत लैजादै गर्दा बाटोमा सोधपुछ गर्दा उनीहरुलाई शंका लागेर भैरहवा फिर्ता गरिएको माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीले बताइन् ।
झाडुपोछा तथा बिरामीको हेरचाहको काममा लगाउने भन्दै १५, १७ र १८ वर्ष उमेरका किशोरीहरु अभिभावकको सल्लाहमै त्यसतर्फ जान लागेको उनीहरुले बताएका थिए । सामाजिक सञ्जाल फेसबुकबाट चिनजानका आधारमा ती किशोरीहरुलाई भारततर्फ लैजाने प्रयास गरिएको थियो । राजस्थानमा एकजनाले त्यहाँ पुगेपछि व्यवस्थापन गर्ने पनि उनीहरुले बताएका थिए । जानका लागि टिकटवापत लाग्ने खर्च समेत उतै भारतबाट काटेर पठाएको पनि उनीहरुले जानकारी गराएका छन् । यहाँबाट मान्छे पठाएवापत प्रतिव्यक्ति १ जनाको १ हजारको दरले कमिशन पनि उनले लिएको उनीहरुको भनाइ छ ।
किशोरीहरुलाई प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा माइती नेपालको आवधिक गृहमा राखेर अभिभावकको जिम्मा लगाइएको थियो ।कार्यक्रममा मानब बेचबिखन तथा ओसारपसारविरुद्धका बारेमा जानकारी गराउँदै अन्तक्रिया पनि गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij