
आइतवार , माघ २०, २०८१
भैरहवा, २० माघ । तिरुपति क्रिकेट क्लबले रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सानदार जीत निकालेको छ । उसले आइतबार भएको ‘ए’ डिभिजनको खेलमा न्यू होराइजन क्रिकेट क्लबलाई १० विकेटले हराउँदै सानदार जीत हात पारेको हो ।
तिरुपतिले जीतका लागि पाएको ५७ रनको झिनो लक्ष्य ७ ओभरमै बिना क्षति ६० रन बनाउँदै पूरा गरी सहज जीत हात पार्यो । उसको जीतमा कमल विकले अविजित ४० र आकाश त्रिपाठीले नटआउट २० रन बनाए ।
यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित ५० ओभरको खेलमा १९ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५७ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका रुपेश कुर्मीले ४, सन्दीप मौर्यले ३ तथा आकाश त्रिपाठीले २ र तुलबहादुर थापाले १ विकेट लिए ।
न्यू होराइजनका प्रदीप साहनीले १८ र विप्रसन केसीले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । तिरुपतिका बलर हाबी हुँदा उसका ५ खेलाडी त शून्य रनमै पेभेलियन फर्किए । खेलमा तिरुपतिका रुपेश कुर्मी प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij