२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ सञ्जालले बनायो वार्षिक कार्ययोजना

सोमवार , माघ २१, २०८१

भैरहवा, २१ माघ । सिद्धार्थ सञ्जाल रुपन्देहीले वार्षिक कार्ययोजना बनाएको छ । माघ १८ र १९ गते पाल्पाको तानसेनमा बसेको वार्षिक कार्ययोजना बैठकले बार्षिक कार्ययोजना बनाएको हो । सञ्जालले आफनो उद्देश्य र कार्यदिशा स्पष्ट पार्नुका लागि वर्षभरी गर्ने कार्यक्रम र जिम्मेवारी बांडफांड गरेको हो ।

सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले भैरहवा क्षेत्रमा मेला–महोत्सव लगायत राजनीतिक दलका कार्यक्रम गर्नका लागि महोत्सवस्थलको लागि भैरहवा मण्डपको लागि जग्गा अध्ययन गरी सम्बन्धीत निकायमा पहल गर्ने निर्णय गरेको छ । त्यसै गरी बैठकले गौतमबुद्ध अन्तराष्ट्यि विमानस्थलबाट दिगो रुपमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक दबाबमूलक कार्य र कुटनीतिक पहल विभिन्न मित्रराष्ट्रसँग समन्वय गर्ने निर्णय गरेको छ । जसका लागि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठलाई संयोजक तोकेको छ । 

बैठकले सीमा क्षेत्रका समस्या, भैरहवा भन्सार कार्यालय, अध्यागमन कार्यालय व्यवस्थित गर्नका लागि आवश्यक पहल गर्नका लागि सन्जालका उपाध्यक्ष संजय बजिमयलाई संयोजक तोकेको छ । 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आन्तरिक तथा बाह्य अध्ययन अवलोकन भ्रमणका लागि सञ्जालका कार्यसमिति सदस्य चन्द्रबहादुर थापालाई संयोजकको जिम्मेवारी तोकिएको अध्यक्ष ज्ञवालीले बताए । उद्योगी–व्यवसायीसँग छलफल तथा अन्तरक्रिया गरी समस्याको निराकरणका लागि सम्बन्धित निकायमा पहल गर्न सह–कोषाध्यक्ष हरिस सेठियालाई संयोजकको जिम्मेवारी तोकिएको छ । 

सञ्जालको स्थापना दिवस प्रत्येक वर्ष जेठ ९ गते मनाउनका लागि कार्यसमिति सदस्य केशवराज ज्ञवालीलाई संयोजक तोकिएको छ । बैठकमा सल्लाहकार खिम बहादुर खत्री, कानूनी सल्लाहकार जगत बहादुर रायमाझी, उपाध्यक्ष डा.शान्त कुमार शर्मा, कार्यक्रम संयोजक संजय बजिमय, सदस्य राम प्रसाद पोखरेल, शंकर पाण्डे, भोजेन्द्र खत्री, पशुपति प्रसाद कान्दु लगायतको उपस्थिति थियो । 

सन्जालका महासचिव मधुप्रसाद पन्थीको सञ्चालनमा भएको बैठकमा अध्यक्ष अनिल कुमार ज्ञवालीले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष सतिश कुमार कौसल (दीपक) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबीच पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा सिद्धार्थ सन्जाल रुपन्देहीसँग अन्तक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा सिद्धार्थ लुम्बिनी पर्यटन प्रबद्र्धन सिधा सम्पर्क सम्बन्धी छलफल गरिएको थियो । 

20250201_122146.jpg

कार्यक्रममा वक्ताहरुले पाल्पाका मठमन्दिर, ऐतिहासिक स्थलको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले पर्यटन क्षेत्रको विकासका लागि सडक पूर्वाधारमा जोड दिनुपर्ने बताए । कार्यक्रममा पूर्वमन्त्री तथा सांसद् वीर बहादुर रानाले आशन र भाषण धेरै भएकाले काममा जोड दिनुपर्ने बताए । उनले पाल्पालाई पर्यटनको माध्यमबाट चिनाउनुपर्ने बताए । सो अवसरमा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली, उपाध्यक्ष संजय बजिमय, निर्मल श्रेष्ठ, हिमाल श्रेष्ठ, मनमोहन श्रेष्ठ लगायतले बोलेका थिए ।