२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवा बहुमुखीका विद्यार्थीहरू शैक्षिक भ्रमणमा

सोमवार , माघ २१, २०८१

भैरहवा, २१ माघ । भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका विद्यार्थीहरु शैक्षिक भ्रमणमा निस्किएका छन् । क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत सातौं सेमेस्टर बीबीएम, बीबीए र बीआईएम अध्ययनरत विद्यार्थीहरु शौक्षिक भ्रमणमा निस्किएका हुन् । अध्यापकहरु फिरोज अहमद खान र भीम भण्डारीले ३७ जना विद्यार्थीहरुलाई लिएर शैक्षिक भ्रमण गरिरहेका छन् । 

अध्ययन तथा अवलोकन भ्रमण गरी शिक्षण सिकाई र अनुभव अभिवृद्धिका लागि शैक्षिक भ्रमणमा निस्किएको खानले बताए । ‘क्याम्पसमा लिने शिक्षासँगै विद्यार्थीहरुलाई बाह्य वातावरणको अध्ययन, अवलोकन र ज्ञान जरुरी हुन्छ’खानले भने–‘यसैले हामीले मुलुकका सुन्दर, आकर्षक पर्यटकीय गन्तव्यमा विद्यार्थीहरुलाई घुमाइरहेका छौं ।’ उनले चितवनको सौराहासहित विभिन्न गन्तव्यको भ्रमण गराइएको जनाए । ‘त्यहाँबाट हामी अहिले तनहुँको बन्दीपुर आएका छौं’, उनले भने, ‘यहाँको मनोरम दृश्यवलोकनपछि अन्यत्र जाने योजनामा छौं ।’

भ्रमण टोलीको योजना आन्तरिक पर्यटन प्रवद्र्धन गर्नु पनि रहेको उनले बताए । चितवनमा बफरजोन क्षेत्रसमेत अवलोकन गरेका थिए । ‘हाम्रो सफारीमा एकजना गाइड रमेश आचार्य हुनुहुन्थ्यो । उहाँले हामीहरुलाई सौराहको इतिहास, विकास र वस्तुस्थिततिबारे जानकारी गराउनुभएको थियो’, खानले भने ।

चितवनमा रहँदा बीसहजारी ताल र देवनगर चौकीमा रहेको २ वटा बाघ अवलोकन गरेको विद्यार्थीहरुले बताएका छन् । ‘सफारीका क्रममा हामीहरुले जरायो देख्यौं । चितवनमा रहेको सामुदायिक बफरजोन भित्र गरुड, विभिन्न प्रजातिका चराहरु देख्यौं’भण्डारीले भने–‘यसबाट हाम्रो टीमले धेरै सिक्ने अवसर पायौं ।’

खानले विद्यार्थीहरुलाई भ्रमण गराउँदा नयाँ कुराहरु सिक्ने र अवलोकन गर्ने अवसर मिलेको जनाए । ‘विभिन्न सहरी क्षेत्र अवलोकन गर्दा विद्यार्थीहरुले उद्यमशीलता पनि सिक्ने मौका पाएका छन्’, उनले भने, ‘यो खालको शौक्षिक भ्रमणले विद्यार्थीहरुमा एकआपसमा मित्रता बढाउँदै लगेको छ भने भातृत्वभाव विकास पनि गरेको छ ।’

विद्यार्थी सिद्धान्त पाण्डेले सैद्धान्तिक ज्ञानका साथै परीक्षामा केस इष्टडिज गर्न समेत भ्रमणले सहयोग पुगेको बताए । ‘हामीलाई रिफ्रेसमेन्ट मिलेको छ, नयाँ कुरा सिकेका छौं । हामीहरुबीचको सम्बन्ध अझ प्रगाढ भएको छ’उनले भने–‘बेलाबेला यस्ता भ्रमण हुन जरुरी छ ।’