
सोमवार , माघ २१, २०८१
भैरहवा, २१ माघ । बलर हावी बन्दा रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा तिलोत्तमा क्रिकेट एकेडेमीले सैनामैना क्रिकेट क्लबमाथि फराकिलो जीत निकालेको छ । सोमबार भएको ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले सैनामैनामाथि १ सय २४ रनको जीत निकाल्यो । यसक्रममा तिलोत्तमाका बलरले उत्कृष्ट प्रदर्शन गरे भने सैनामैनाका ब्याटर उनीहरुका सामु निरीह बने ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको तिलोत्तमाले निर्धारित ५० ओभरमा ४५ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९२ रन बनायो । उसका लागि प्रतीक भट्टराईले ३४, सन्दीप यादवले ३१, कृष्ण भुसालले २०, अमन बोहरा र रोशन घिमिरेले समान ११–११ तथा आशुतोष पाण्डेले १० रन बनाए । बलिङमा सैनामैनाका किरण भट्टराईले ५, ऋदम सुवेदीले ३ तथा प्रदीप सुवेदी र ईश्वर क्षेत्रीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको सैनामैना १७ ओभरमै अलआउट भयो र जम्मा ६८ रन बनायो । उसलाई सस्तैमा रोक्न तिलोत्तमाका विपिन खत्रीले ८ ओभरमा १ मेर्डन राख्दै ३० रन खर्चेर ६ विकेट लिए । यस्तै, कृष्ण कार्कीले ८ ओभरमा २७ रन खर्चेर ४ विकेट हात पारे ।
सैनामैनाका मनिष खत्रीले २४ र विक्रम गौतमले १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित भयो । खेलमा विपिन खत्री प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij