२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

उत्सवमय प्रदेश स्थापना दिवस (फोटो फिचर)

सोमवार , माघ २१, २०८१

दाङ, २१ माघ । लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका (देउखुरी) मा भव्य रुपमा आयोजना गरिएको दिवसको मूल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयत स्टलहरु राखेर सरकारले गरेका कामहरु सार्वजनिक गरिएको छ । 

प्रदेशलाई बलियो र स्थापित बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन नै आजको आवश्यकता रहेकोमा जोड दिइएको छ । संघीय शासन व्यवस्था लागू भए पनि प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा जोड दिइएको हो । तीन तहको सरकारमध्ये प्रदेश संघीयताको बलियो आधार भएको, संघीय शासनलाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा वक्ताहरुको जोड छ । 

लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै संघीय शासन व्यवस्था भएको बताए । उनले जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको भन्दै जनता भन्दा माथि कोही नहुनेमा जोड दिए । ‘जनताको शासन हो । यहाँ जनता नै जनार्दन हुन’उनले भने,‘जनभावना अनुसार नै कामकारवाही अघि बढ्नुपर्छ ।’ 

WhatsApp Image 2025-02-03 at 4.17.12 PM (1).jpeg

मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्ने गरी लुम्बिनी प्रदेशले उदारण दिन सफल भएको बताए । ‘प्रदेश सरकारको उपादेयता र औचित्य, हाम्रो काम गराई, इमान्दारिता, सुशासन, सेवा प्रवाह एवं स्थायीत्व प्राप्त सरकारबाट मात्रै दिन सकिन्छ भन्नेमा हामीमा द्विविधा पक्कै पनि नहोला । प्रदेश सरकार तीन तहका सरकारका बीचमा पनि अव्बल बन्न सक्छ भन्ने उदाहरण हाम्रा धेरै कामहरुले दर्शाएका छन्’उनले भने,‘हामीले यस ७ वर्षको अवधिमा प्रदेश सभा र प्रदेश सरकारबाट करिब ११० को संख्यामा कानुनहरु निर्माण गरेका छौं । यसबाट हामीलाई नेपालको संविधानबाट प्राप्त अधिकारको सीमाभित्र रहँदै प्रदेशका काम कारवाही अघि बढाउन, प्रदेश सकारको सञ्चालन र व्यवस्थापनका लागि कानूनी एवं वैधानिक आधार तयार भएको छ ।’ 

प्रदेश तहमा अझै धेरै कानूनहरु तर्जुमाको चरणमा रहेको, संघीय कानूनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा संघीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । संघीय सरकारसँगको सहकार्य, स्थानीय तहसँगको समन्वयसहितको सह–सम्बन्धबाटै प्रदेशको कार्यसञ्चालनलाई प्रभावकारी पार्न सकिने उनले विश्वास व्यक्त गरे । ‘प्रदेश सरकारका लागि समग्र लुम्बिनी प्रदेश साझा घर हो । यसभित्र बसोबास गर्ने सबै नागरिक हाम्रा दाजुभाई दिदीबहिनी हुन्’मुख्यमन्त्री आचार्यले भने,‘१०९ वटै स्थानीय सरकार हाम्रा लागि समान हक राख्ने हाम्रा आफ्नै अवयवहरु हुन् । यिनको बीचमा समान विकासका अवसर, बजेट, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पुल पुलेसा, कृषि, सिंचाई, उत्पादन, रोजगारी, उद्यम, पर्यटन समेतका क्षेत्रमा स्थान विशेषका आधारमा विशिष्ट एवं पृथक प्राथमिकता तर, समान न्यायका साथ हाम्रो विकासको विनियोजन गर्नुपर्ने आवश्यकतालाई समेत हामीले राम्ररी मनन् गरेका छौं ।’

सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायीत्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने आवश्यक रहेको बताए । ‘संघीय संरचनामा प्रदेश तह झनै नयाँ हो । पहिला कुनै न कुनै हिसाबले संघीय र स्थानीय सरकार थिए । वास्तविक संघीयताको अभ्यास गर्ने थलो प्रदेश तह हो’उनले भने,‘संघीय शासन प्रणालीलाई बास्तिक रुपमा आत्मसाथ गर्न जरुरी छ ।’ 

नेपाली कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताए । ‘गाली हामीले खानुपर्ने, अधिकार काठमाडौंमा राख्नुपर्ने’उनले भने,‘अधिकार तलसम्म पुग्छ भनेर संविधानमा लेखियो । तर, अझै अधिकार माथि नै रह्यो ।’ प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने उनको धारणा छ ।

प्रतिपक्ष दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको विचमा साझा प्रतिवद्धता चाहिने बताए । ‘समृद्ध प्रदेशको लक्ष्य प्राप्ति गर्न प्रदेश सरकार सफल भएको छ । अझ यसलाई अघि बढाउन सबैको बीचमा साझा प्रतिवद्धता र प्रयासको खाँचो छ’उनले भने,‘प्रदेशलाई कानूनी रुपमा बलियो बनाउन केही ऐनहरु ऋझै बनाउन बाँकी छन् । ती ऐनलाई पुरा गर्ने जिम्मेवारी प्रदेश सरकारमा छ ।’

पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफुलाई अब्बल सावित गर्न अझै ऐतिहासिक कामहरुलाई अघि बढाउन आवश्यक रहेको धारणा राखे । ‘प्रदेशको सुरुवाती दिनलाई सम्झदा र अहिलेलाई तुलना गर्दा धेरै ऐतिहासिक काम भएका छन् । इतिहासलाई जोगाई राख्नुपर्नेछ’उनले भने,‘प्रदेश राजधानी कार्यान्वयन, प्रदेशको नामाकरण जस्ता विषयहरु प्रदेशले टुंग्याएर संघीयताको सही कार्यान्वयनको उदाहरण दिन सक्यो । यो नै ठूलो उपलब्धी हो ।’ 

नेकपा (एमाले) संसदीय दल उपनेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए । राजनीतिक अस्थिरता हटाउदै प्रदेशलाई विकासको लयमा अघि बढाउन सफल प्रयासको थालनी भएको बताए ।

प्रदेश स्थापना दिवसमा ११ वटा विभिन्न झाँकीहरु प्रदर्शन गरिएका थिए । जसमध्ये शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, पञ्चेबाजा झाँकी गढवा दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हाँसिल गरेका थिए । 

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लगायतले स्टलहरु राखेका थिए । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ अधिकृत गंगाधर पाण्डेले गरेका थिए ।

 

WhatsApp Image 2025-02-03 at 4.57.22 PM.jpeg
WhatsApp Image 2025-02-03 at 4.57.20 PM (1).jpeg
WhatsApp Image 2025-02-03 at 4.57.20 PM.jpeg
WhatsApp Image 2025-02-03 at 4.17.19 PM (1).jpeg
WhatsApp Image 2025-02-03 at 4.17.15 PM (1).jpeg
WhatsApp Image 2025-02-03 at 4.17.14 PM (1).jpeg
WhatsApp Image 2025-02-03 at 4.17.12 PM.jpeg
WhatsApp Image 2025-02-03 at 4.17.10 PM.jpeg