२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रदेश सरकारले गरेका कामलाई स्थापित गर्न जरुरी : मुख्यमन्त्री आचार्य

मंगलवार , माघ २२, २०८१

दाङ, २२ माघ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य तथा मुख्यमन्त्री, मन्त्रीहरुका स्वकीय सचिवहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यले अभिमुखीकरण कार्यक्रमको मंगलबार उद्घाटन गर्दै प्रदेश सरकारले सम्पादन गरेका कामहरुलाई जनस्तरमा प्रभावकारी रुपमा पुर्‍याउन निर्देशन दिए । 

उनले प्रदेश सरकारले नागरिकको दैनिक जीवनसँग जोडिएका थुप्रै कामहरुलाई कार्यान्वयन गरिरहेको, त्यसलाई जनस्तरमा पुर्‍याउन, प्रदेशलाई स्थापित गर्ने सवालमा ध्यान दिएर काम गर्न निर्देशन दिएका हुन् । ‘सरकारले सुशासन, पारदर्शीता, जावफदेहीताको क्षेत्रमा थुप्रै काम गरेको छ । यति मात्र होइन, विकास निर्माणका कामहरुलाई पनि गति प्रदान गरेको छ । यसलाई स्थापित गर्न जनपरिचालनको क्षेत्रमा सचिवालयले प्रभावकारी रुपमा काम गर्न जरुरी छ’उनले भने,‘नागरिकको आवश्यकता र चाहना अनुसार प्रदेश सरकारले वार्षिक तथा आवधिक योजनाहरु निर्माण गरेर अघि बढेको छ । समुदाय तहबाट आउने सुझाव र गुनासाहरुलाई सम्वबेधन गर्ने गरी सरकारले काम गरिरहेको छ । यसलाई अझ व्यवस्थित गर्न जरुरी छ ।’ 

एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरिएको थियो । अभिमुखीकरणमा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसी प्रसाद चौधरी र प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले सचिवालयको काम, कर्तव्य र जिम्मेवारीको बारेमा प्रशिक्षण दिनेछन् ।