
मंगलवार , माघ २२, २०८१
भैरहवा, २१ माघ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) स्थापना भएको करिब २ दशक पुगेको छ । रुपन्देहीका उद्योगी–व्यवसायीले गठन गरेको यो संस्था मंगलबार १८ वर्ष पुगेर १९ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवस संस्थाले विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ ।
मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी संस्थाले स्थापना दिवसको अवसरमा चेम्बर क्रिकेट चैलेन्ज क्रिकेट प्रतियोगिता गर्ने जनाएको छ । व्यवसायी र उद्योगीहरुबीच खेलकुदको माध्यमबाट भातृत्वको भावना विकास गर्ने उद्देश्यसहित क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा फागुन ३ गते शनिबार प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक तथा संस्थाका सचिवालय सदस्य धिरज कुमार मल्लिकले जानकारी दिए । ‘चेम्बर क्रिकेट च्यालेन्ज–२०८१’ नाम दिएर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा ८ वटा औद्योगिक प्रतिष्ठानको सहभागीता रहने मल्लिकले बताए । विभिन्न व्यवसायिक समूहरुसँग मित्रता र सहकार्यको भावना प्रोत्साहित गर्दै स्वस्थ जीवनशैली र टीमवर्कको महत्वलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मल्लिकले जानकारी दिए । ‘पहिलो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना गर्न पाउँदा अत्यन्तै खुसी छौं, ’उनले भने ।
कार्यक्रम संयोजक मल्लिकका अनुसार प्रतियोगिता अन्तर्गत प्रत्येक खेल ५ ओभरको हुनेछ । प्रत्येक टीममा ८ सदस्य रहे पनि ६ जना मात्र खेल्ने र २ जना अतिरिक्त खेलाडीको रुपमा रहनेछन् । ‘प्रतियोगिता सुपर सिक्स फर्मेटमा खेलाइनेछ, ’उनले भने । प्रतियोगितामा दर्ता शुल्क वापत रु. १० हजार तोकिएको आयोजकले जनाएका छन् । प्रतियोगिता आयोजना गर्न करिब १ लाख ७५ हजार खर्च लाग्ने कार्यक्रम संयोजक मल्लिकले बताए ।
प्रतियोगिताको विजेता टीम र उपविजेतालाई ट्रफी र प्रमाणपत्र, सबै सदस्यहरुलाई पुरस्कार, म्यान अफ द म्याचलाई प्रमाणपत्र र विशेष उपहार, म्यान द सिरिजलाई ट्रफी र प्रमाणपत्र लगायत पुरस्कारको व्यवस्था गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij