
मंगलवार , माघ २२, २०८१
दाङ, २२ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको राप्ती गाउँपालिकास्थित आदर्श नमूना माध्यमिक विद्यालय लालमटीयामा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले खोप अभियानको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री आचार्यसहित स्वास्थ्यमन्त्री खेमबहादुर सारुले खोप अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरेपछि अभियान सुरु भएको छ ।
१० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लक्षित गरेर खोप लगाउन थालिएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने किशोरीलाई खोप लगाइनेछ । विद्यालय बाहिर रहेका किशोरीहरुलाई अभियानमा सहभागी गराउन ध्यान दिन मुख्यमन्त्री आचार्यले आग्रह गरे । रोग लाग्नै नदिने गरी निरोगीता हुने गरी स्वास्थ जीवनशैली अपनाउन उनले आह्वान गरे ।
‘विद्यालयमा रहेका किशोरीहरुले खोप पाउने पूर्ण सुनिश्चित छ । तर, विद्यालय बाहिर रहेका किशोरीहरुलाई खोजेर अभियानमा अनिवार्य जोड्न जरुरी छ । उहाँहरु नछुट्ने गरी खोप लगाउन ध्यान दिनुपर्ने छ’मुख्यमन्त्री आचार्यले भने–‘लुम्बिनी प्रदेश सरकारले वार्षिक करोडौं रुपैयाँ क्यान्सरको उपचारमा सहयोग हुँदै आएको छ ।
लुम्बिनी प्रदेशका २ लाख ९० हजार १ सय २४ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ । आवश्यक पर्ने खोप सबै सम्बन्धित खोप केन्द्रहरुमा पठाइएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । प्रदेशका १२ जिल्लामध्ये सबै भन्दा धेरै रुपन्देही जिल्लाका ६१ हजार २ सय ३१ किशोरीलाई खोप लगाउने लक्ष्य छ । त्यसपछि दाङ जिल्लामा ४२ हजार ६७ जना, कपिलवस्तुमा ३९ हजार ५ सय २५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
सबैभन्दा थोरै रुकुम पूर्वमा ३हजार पाँच सय ९१ र अर्घाखाँचीमा ९ हजार ३ सय ३४ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको हो । पाल्पामा १२ हजार ५ सय ६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७ सय ९३, रोल्पामा १५ हजार ४ सय ७८, प्युठानमा १६ हजार ३ सय ३५, बर्दियामा २४ हजार ६५ जना र बाँकेमा ३४ हजार ९३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटुको उपचारमा सहयोग गर्न गत वर्ष १३ करोड रुपैयाँ गरेको र क्यान्सरको उपचारको लागि मात्रै ९ करोड खर्च भएको बताए । प्रदेश सरकारले उपचारको लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । अब रोग लागेपछि मात्रै उपचार गर्ने भन्दा रोग लाग्नै नदिने गरी ध्यान दिन उनले आह्वान गरे । ‘नसर्ने रोगका कारण नागरिकहरु पीडित हुनुपर्ने अवस्था छ । राज्यले आफ्नोतर्फबाट गर्ने सहयोग गरिरहेको छ’उनले भने,‘अब रोग नलाग्ने गरी स्वस्थ जीवनशैली अपनाउन जरुरी छ ।’
लुम्बिनी प्रदेशमा वार्षिक २ हजार जना व्यक्ति क्यान्सर रोगको उपचारको लागि सहयोग लिन स्वास्थ्य निर्देशनालयको सम्पर्कमा आउने गरेका छन् । स्वास्थ्य सचिव डा.बासुदेव उपाध्यायले दुई चरणमा खोप लगाउन थालिएको र लक्षित उमेर समूहका किशोरीहरुलाई अनिवार्य खोप अभियानमा जोडिने जानकारी दिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालयका खोप फोकलपर्सन गोकर्ण गिरीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij