
मंगलवार , माघ २२, २०८१
भैरहवा, २२ माघ । न्यू होराइजन क्रिकेट क्लबका निश्चल ज्ञवालीको अलराउण्ड प्रदर्शन र अन्य बलर चम्किँदा रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोजले हार व्यहोरेको छ । प्रतियेगिता अन्तर्गत मंगलबार भएको ‘ए’ डिभिजनको खेलमा न्यू होराइजनले बुटवल राइनोजलाई २८ रनमै अलआउट गर्दै ८३ रनको जीत निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा १८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो । तर, जवाफी ब्याटिङ गरेको बुटवल राइनोज ११ ओभर २ बलमा २८ रन जोड्दा अलआउट भयो र प्रतियोगितामा सबैभन्दा कम स्कोर बनाउने टीमको इतिहास समेत बनायो । उसलाई सस्तैमा रोक्न न्यू होराइजनका निश्चल ज्ञवालीले ४ ओभर बलिङ गर्दै ६ रन खर्चेर ५ विकेट लिए । यस्तै, प्रिन्स पालले ५ ओभर २ बलमा २ मेर्डनसहित १२ रन खर्चेर ५ विकेट नै लिए ।
न्यू होराइजनका निश्चल ज्ञवालीले ७७ रनको अर्धशतकीय पारी खेले पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा बुटवल राइनोजका विपिन विक्रम शाही, शुभम घमाल र इमरान शेषले समान २–२ तथा सुरज सारु, सुप्रिम कंडेल र शिव कुँवरले १–१ विकेट लिए । बुटवलका सुनिल गुरुङले सर्वाधिक ८ रन बनाए । उसका ६ खेलाडी शून्य रनमै प्याभेलियन फर्किए । खेलमा अलराउण्ड प्रदर्शन गरेका निश्चल ज्ञवाली प्लेयर अफ द म्याच घोषित भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij