
मंगलवार , माघ २२, २०८१
दाङ, २२ माघ । लुम्बिनी प्रदेशमा अर्गानिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर सम्बोधन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । अम्बिकेश्वरी व्यवसायिक तरकारी खेती कृषक समूहसँग दाङको देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले खाद्यान्न तथा तरकारी उत्पादनमा रासायनिक मल र विषादीको प्रयोगलाई घटाउँदै जैविक मल र जैविक विषादीको प्रयोग बढाएर अर्गानिक उत्पादन बढाउने गरी प्रदेश सरकारले सम्बोधन गर्ने बताएका हुन् ।
तरकारी बजार तथा सब्जी मण्डीहरुमा विक्रीवितरणका लागि राखिएका तरकारीको विषादी परीक्षणको व्यवस्था मिलाउने गरी कार्यक्रम बनाउन समेत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई उनले निर्देशन दिएका छन् ।
किसानहरुले भारतबाट आउने तरकारीमा अत्याधिक विषादी हुने गरेको गुनासो गर्ने गरेका छन् । सीमा नाकामा संघीय सरकारले विषादी परीक्षण गर्दै आएको र त्यो कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समेत पहल गर्ने मुख्यमन्त्री आचार्यले बताए । ‘विषादी परीक्षणका लागि सिमानामा व्यवस्था छ । त्यसलाई प्रभावकारी बनाउन प्रदेश सरकारले विगतमा पनि पहल लिएको थियो । अहिले पनि हामीले यसमा ध्यान दिन्छौं’उनले भने,‘सिमानाबाट हुने तरकारी, दुध, खसीबोका, कुखुराको तस्करी रोक्नका लागि विशेष पहल भएको छ । अहिले यसमा कमी आएको छ ।’
भैरहवा, कृष्णनगर, नेपालगञ्जको नाकामा विषादी परीक्षणको कामलाई प्रभावकारी बनाउन समेत किसानहरुले माग राखेका थिए । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिना अम्बापुरका किसानहरुले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएको छ । प्रदेश सरकारले जैविक मल, जैविक विषादी तथा सिंचाईका लागि सहयोग गर्ने गरी थप कार्यक्रम बनाउने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री राजु खनालले किसानहरुलाई हौसला थप्न आवश्यक रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij