२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा ७ हजार ४६५ जनालाई एचपिभी खोप लगाइयो

मंगलवार , माघ २२, २०८१

रुपन्देही,२२ माघ । रुपन्देहीमा पहिलो दिन ७ हजार ४६५ जनाले पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाएका छन् ।

पहिलो चरणमा ८ वटा पालिकामा ३१ हजार ९९५ जना किशेरीलाइ खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय रुपन्देहीले पहिलो दिन ७ हजार ४६५ जनालाइ खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

देशभर आजबाट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन शुरु गरिएको छ । रुपन्देहीमा पहिले चरणमा झण्डै ३२ हजारलाई खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणी ज्ञवालीले जानकारी दिनुभयो । रुपन्देहीमा उल्लासपुर्वक खोप लगाएका छन् । पहिले चरणमा आजदेखी २७ गतेसम्म र दोश्रो चरणमा फागुन ६ गते सम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने र बिद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेरका किशोरीहरुलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

रुपन्देहीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको उपस्थितीमा मायादेवि ८ मा रहेको श्री जनचेतना माविबाट खोप अभियान शुरु गरिएको हो । सो अबसरमा बोल्दै मन्त्री कार्कीले सरकारले अभियानको रुपमा शुरु गरेको खोप लगाउने कार्यमा सबै जना सहभागि भएर खोप लगाउन आग्रह गर्नु भयो ।

स्वास्थ्य कार्यालयले स्थानिय पालिकाको समन्वयमा दुई चरणमा गरी ५८ हजार ८ सय ९८ किशोरीलाई खोप लगाउदै छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष नेपालमा २ हजार १ सय ६९ जना महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट सङ्क्रमित हुने गर्दछन् । हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुने गरेको छ ।

जसअनुसार नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुनुको कारण पाठेघरको क्यान्सर हुने गरेको तथ्यांकमा उल्लेख छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट हुने गर्दछ । यो रोग लागेपछि योनिबाट रगत आउने, तल्लो पेट दुख्ने, रक्त अल्पता हुने गर्दछ । यौन सम्पर्कबाट यो रोग सर्ने गरेको स्वास्थ्य विज्ञहरूको भनाई छ ।

 

‍०००००