
मंगलवार , चैत्र ३, २०७७
अर्घाखाँची, ३ चैत ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले महिलाहरुलाई महिला भएकै कारण दुःख पाए भन्ने सोच हटाउन आग्रह गरेका छन् । लैंगिक समानता र सामाजिक समावेशीकरणमा स्थानीय तहको भुमिका विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले महिलाहरु महिला भएकै कारण दुःख पाए भन्ने सोचका कारण पछि परेकाले यस्तो सोच हटाउन आग्रह गरे । उनले संविधानले महिलाहरुका हक अधिकारलाई सुनिश्चित गरेको र स्थानीय तहले पनि धेरै अवसर दिएकाले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
महिलाहरु कुनै पनि किसिमले पुरुष भन्दा दुर्बल नरहेको उल्लेख गर्दै उनले मानसिकता र सोच परिवर्तन गर्नुपर्ने बताए । ‘पुरुष बलियो हुन्छन्, महिलाले सक्दैनन् भन्ने जस्ता कुराहरु सुन्छु, नगरप्रमुख भुसालले भने,‘कुनै कुरामा महिला कम छन् जस्तो लाग्दैन ।’ सबैका फरक फरक खुबी र क्षमता हुने भएकाले कसैले कसैलाई कमजोर सोच्न नहुने उनको भनाइ थियो ।
लैंगिक समानता सामाजिक समावेशीकरणमा स्थानीय तहको भुमिका विषयमा भएको कार्यक्रम सञ्चारीका समुह लुम्बिनी प्रदेशको समन्वय र सन्धिखर्क नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रिय सचिवालय सदस्य छमकुमारी खनाल चिनारी, महिला संघ जिल्ला सचिव छमा कार्की, अनेमसंघ केन्द्रिय सदस्य ईश्वरा पोख्रेल, कल्पना पोख्रेल, अन्तर पार्टी महिला सञ्जाल जिल्ला समन्वय सचिव माधवा भुसाल, कार्यपालिका सदस्य सिर्जना वि.क., नगरसभा सदस्य आशा परियार लगायतले मन्तव्य बोलेका थिए ।
कार्यक्रममा नगरसभा सदस्य, कार्यपालिका सदस्य, स्वयंसेविका, विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार वि.क.को अध्यक्षता, नगर प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष लिलाराम गौतमको स्वागत मन्तव्य तथा पुष्पा भुसालको संचालनमा सम्पन्न कार्यक्रमको सहजीकरण सञ्चारिका समुह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij