२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्थापना दिवसमा उत्साहपूर्ण सहभागीताले काम गर्ने हौसला मिलेको छ : मेयर खाँ

बुधवार , माघ २३, २०८१

भैरहवा, २३ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आफ्नो ५७ औं स्थापना दिवस सभ्य र भव्य रुपमा सफल पार्न सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गरेको छ । नगरप्रमुख (मेयरं इश्तियाक अहमद खाँले बुधबार एक विज्ञप्ती जारी गर्दै स्थापना दिवस सफल पार्न सहयोग गर्ने, आम नगरबासी, प्रमुख अतिथि, अतिथि तथा प्रभातफेरीमा सहभागी हुने विभिन्न संघ–सस्था, शिक्षकशिक्षिका, कर्मचारी, जनप्रतिनिधिहरु, राजनीतिक दलहरु, बुद्धिजीवि, सुरक्षा निकाय, सञ्चार जगतप्रति आभार एवं धन्यवाद ज्ञापन गरेका हुन् ।

‘नगरको विकास र सुन्दरीकरणमा हातेमालो गर्न चाहनुहुने यहाँहरु जस्तै सकारात्मक सोचका धनीहरुबाट नै यस्ता कार्यक्रमहरु सफल हुने गर्दछन्, मेयर खाँद्वारा जारी विज्ञप्तीमा भनिएको छ–स्थापना दिवसको अवसरमा मगंलबार यहाँहरुको उत्साहपूर्ण सहभागीताले आगामी दिनमा काम गर्न हामीलाई हौसला मिलेको छ ।’ उनले आगामी दिनहरुमा पनि आम नगरबासीबाट यसरी नै सहभागीता र रचनात्मक सुझावको अपेक्षा गरेको उल्लेख गरेका छन् । 

नगरपालिकाले माघ २२ गते स्थापना दिवस मनाएको थियो । वि.सं. २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । तत्कालीन श्री ५ को सरकारद्वारा दश हजार सात जनसंख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायत नामले स्थापना गरेको विषय उक्त समयमा प्रकाशित राजपत्रमा उल्लेख छ । उक्त राजपत्रको नगरपालिकाको कार्यालयले खोज गरेको थियो । स्थापना दिनको प्रमाणस्वरुप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको नगरप्रमुख खाँले जानकारी दिए ।

नगर स्थापना दिवसको अवसरमा सिद्धार्थनगरले मंगलबार स्थानीय बिदा समेत दिएको थियो । सिद्धार्थनगरले गत वर्षदेखि स्थपना दिवस मनाउन लागेको हो ।