
बुधवार , माघ २३, २०८१
भैरहवा, २३ माघ । तिरुपति क्रिकेट क्लब रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको ‘ए’ डिभिजनको खेलमा सैनामैना क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै तिरुपति सेमीफाइनलमा पुगेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सैनामैनाले निर्धारित ४३ ओभरमा २२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय १ रन बनायो । उसका लागि ईश्वर क्षेत्रीले २८, विक्रम गौतमले १९ र प्रदीप सुवेदीले १० रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । तिरुपतिका सन्दीप मौर्यले ६ ओभर ५ बल बलिङ गर्दै २७ रन खर्चेर ६ विकेट हात पारे । यस्तै, सुलभ ढुंगानाले २ तथा रुपेश कुर्मीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले २० ओभर ४ बलमा ५ विकेटको नोक्सानीका १ सय २ रन बनाउँदै लक्ष्य भेट्टाई सेमीफाइनल यात्रा पक्का गर्यो । उसको जितमा एजाजुल हकले २९ तथा कमल विक र तुलबहादुर थापाले समान १५–१५ रन प्रहार गरे ।
बलिङमा सैनामैनाका किरण भट्टराई, ईश्वर क्षेत्री, गोपाल शर्मा, प्रदीप सुवेदी र विक्रम गौतमले समान १–१ विकेट लिए । खेलमा तिरुपतिका सन्दीप मौर्य प्लेयर अफ द म्याच भई एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सह–प्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij