
बुधवार , माघ २३, २०८१
भैरहवा, २३ माघ । विश्व क्यान्सर दिवस–२०२५ को अवसरमा क्यान्सरविरुद्ध सचेतना र्याली सम्पन्न भएको छ । प्रस्तावित सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको आयोजना तथा सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा र ओम साई नर्सिङ क्याम्पसको सहयोगमा मंगलबार र्याली निकालिएको हो । भैरहवास्थित विद्रोही चोकबाट निस्केको याली विभिन्न क्षेत्रको परिक्रमा गरी सिद्धार्थनगर सिटी हस्पिटलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
उक्त र्यालीमा वडा प्रहरी कार्यालय, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, लियो क्लब अफ सिद्धार्थनगर, पञ्चकन्या समूह लगायत विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि गरी करिब ३ सय जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले क्यान्सर रोग न्यूनीकरणका लागि आम नागरिकलाई यो रोगका बारेमा सचेतना गराउन आवश्यक रहेको बताएका छन् ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आम नागरिकमा क्यान्सरसम्बन्धी सचेतना आवश्यक रहेकोमा जोड दिए । उनले यस क्षेत्रमा क्यान्सर हस्पिटल सञ्चालन हुने खबरले नागरिकमा खुसी छाएको बताए । क्यान्सर सम्बन्धी जति नागरिकलाई बुझाउन सकियो त्यति क्यान्सर बिरामी घटाउन सकिने उनले बताए । क्यान्सरवरुद्धमा जनचेतना लगायतका क्षेत्रमा मिलेर काम गर्न रोहिणी गाउँपालिका तयार रहेको उनले बताए । अध्यक्ष यादवले निर्माणाधिन क्यान्सर हस्पिटल सञ्चालन आएपछि यस क्षेत्रका साथै अन्य क्षेत्रका जनतालाई पनि उपचारमा सहज हुने बताए ।
त्यस्तै पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले क्यान्सर रोगकै कारण आफुले सबैभन्दा नजिकको मान्छे गुमाएको पीडा आफूसँग ताजै रहेको बताउँदै जनचेतनामूलक कार्यक्रम एकदमै आवश्यक रहेको उल्लेख गरे । उनले सुमित्रा मेमोरियल क्यान्सर अस्पतालले छिट्टै सेवा सुरु गर्ने गरी काम अघि बढाउन शुभकामना समेत दिए ।
सिद्धार्थनगर सिटी हस्पिटलका जनरल सर्जन डा. हरि शर्माले बिरामी परेपछि उपचार गर्नुभन्दा समयसमयमा आफ्नो स्वास्थ्यबारे जानकारी लिनुपर्ने बताए ।
नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुने बताए ।क्यान्सर सरुवा रोग नभएको बताउदै क्यान्सर लागिसकेपछि बिरामीको आत्मबल पारिवारिक साथ, खानपान तथा जीवनशैलीले गर्दा क्यान्सरलाई जित्न सकिने भट्टराईले बताए । उनले सचेतना बढीभन्दा बढी फैलाउनुपर्नेमा जोड दिए ।
सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलका संस्थापक तथा सिद्धार्थनगर सिटी हस्पिटल का प्रबन्ध निर्देशक अर्जुन पौडेलले क्यान्सर सम्बन्धी आम सर्वसाधारणलाई जागरुक गराउन जनचेतनामूलक कार्यक्रम आफुहरुले आयोजना गरेको बताए । उनले प्रस्तावित क्यान्सर हस्पिटल सञ्चालनपछि यस क्षेत्रका क्यान्सरका बिरामीलाई उपचारमा सहज हुने विश्वास व्यक्त गरे । क्यान्सरकै कारण आफ्नो आमा गुमाउनुपरेको उनले स्मरण गर्दै भने मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा सुमित्रा मेमोरियल क्यान्सर हस्पिटल शिघ्र सञ्चालनमा ल्याउने तयारी गरी काम भइहेको बताए ।
विगत १८ महिनादेखि क्यान्सर रोगसँग लड्दै आएका पत्रकार मनोरञ्जन शर्माले निरोगीलाई नमात्तिन र रोग लागेमा नआत्तिन आग्रह गर्दै क्यान्सर रोगलाई समाजले महाघातक रोगको रुपमा प्रस्तुत गरिदिदा क्यान्सर बिरामीलाई हेर्ने दृष्टिकोण फरक भएको बताए । उनले बरामीलाई हेयको दृस्टिले नहेर्न आग्रह गरे । नियमित व्यायाम, गुणस्तरीय खानपान, आत्मविश्वास, पारिवारिक मायाले क्यान्सर जित्न सकिने उनले बताए । शर्माले आम जनसमुदायमा क्यान्सर रोगको बारेमा ग्रामीण तहसम्म सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिए ।
सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलका संस्थापक तथा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलको अध्यक्षता तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij