
बिहिवार , माघ २४, २०८१
बुटवल, २४ माघ । बुटवलको योगीकुटीमा सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको ‘सिद्धार्थ कटेज’ को लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन् । सिद्धार्थ ग्रुपको २७ औं वार्षिकोत्सव सप्ताहको सन्दर्भमा बुधबार मन्त्री कार्कीले नवर्निमित कटेजको शुभारम्भ गर्दै सिद्धार्थ हस्पिटालिटी लुम्बिनी प्रदेशकै गौरव भएको बताए ।
कटेजमा हाल यस क्षेत्रकै उत्कृष्ट र सुविधासम्पन्न मल्टी कुजीन रेष्टुरेण्ट सुरु गरिएको छ । बगैचासहित रेष्टुरेण्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेनपार्कको समेत सुविधासहित योगीकुटीको सिद्धार्थ कटेज बुटवलको सबैभन्दा सुविधासम्पन्न हुने सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।
योसँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गत दुईवटा कटेज भएका छन् । ‘यसअघि बुटवलको चौराहमा विगत १३ वर्षदेखि सिद्धार्थ कटेज सञ्चालनमा छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ’, न्यौपानेले भने ।
करिब ३५ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको सिद्धार्थ कटेजको हलमा थिएटर सेटअपमा एकैपटकमा करिब २ हजार जनालाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्युको सुविधा उपलब्ध हुनेछ । बुटवलमा सबैखाले कार्यक्रम गर्नका लागि भव्य सभाहलसहितको सेवा उपलब्ध गराउने उद्देश्यसहित कटेज निर्माण गर्न लागिएको उनले बताए । उक्त कटेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कम्तीमा १ सय जना बढीले प्रत्यक्ष रोजगारी पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।
हाल सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौंको तीनकुने र धोबिघाट, बुटवलकै चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा छन् भने धनगढीमा सिद्धार्थ कटेज निर्माणाधीन छ । सिद्धार्थ बिजनेस ग्रुपको सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव र तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलका साथै सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेलगायतका ब्राण्ड सञ्चालनमा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij