२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

चितवनमा हुने राष्ट्रिय डेरी एक्स्पोको तयारी पूरा

बिहिवार , माघ २४, २०८१

चितवन, २४ माघ । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार (भोलि) देखि सञ्चालन हुने प्रथम राष्ट्रिय डेरी एक्स्पोको तयारी पूरा भएको छ । एक्स्पोमा सहभागी हुने प्रदर्शक आउनेदेखि प्रदर्शनी कक्ष निर्माणका काम सकिएको आयोजकले जनाएको छ । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा हुने डेरी एक्स्पोमा डेरी सम्बन्धी विभिन्न ५२ वटा स्टलहरु रहनेछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले प्रदर्शनीमा डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक हुने मेशिनरी तथा उपकरण र दूधबाट निर्माण हुने उत्पादनहरु प्रदर्शन गरिने बताए । दूध किसानहरुको समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागतमा न्यूनीकरण गरी दुग्धजन्य पदार्थको निर्यात गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी माघ २७ गतेसम्म सञ्चालन हुने उनको भनाइ छ । 

दुग्ध किसानहरुको दूधको बजारीकरणमा सहजता होस् भनेर एक्स्पो गर्न लागिएको उनको भनाइ छ । प्रदर्शनीमा डेरी उद्योगका लागि सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहार सम्बन्धीका स्टलहरु, पशु औषधि तथा भेटनरी सेवा सम्बन्धीका स्टलहरु, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टलहरु, बैंक तथा बीमा कम्पनीहरु, स्टार्टअप प्याभिलियनलगायतका स्टलहरु रहने बगालेको भनाइ छ । प्रदर्शनी अन्तर्गत कार्यशाला र तालिम, बिटुबि मिटिङ, सफल व्यवसायिक किसान, डेरी उद्यमी आदिको अनुभव तथा सफलताको कथा, पुरस्कार वितरण, डेरीजन्य नयाँ प्रोडक्टको लन्चलगायत कार्यक्रम हुनेछन् । 

त्यस्तै, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी उद्योग संघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको बीचमा समूहगत छलफल हुने बगालेको भनाइ छ । माघ २६ गते दुग्ध किसान, व्यवसायी र नीति निर्माताहरु एकैठाउँमा बसेर गरिने समूहगत छलफलले किसानको समस्या समाधानका लागि ठोस योजना निर्माण गर्न सहयोग पुर्‍याउने उनको भनाइ छ । त्यस्तै, माघ २७ गते अन्तर दुग्ध सहकारी संस्थाबीच हाजिरीजवाफ प्रतियोगिता हुने अध्यक्ष बगालेले जानकारी दिए । 

प्रदर्शनी सम्पन्न गर्नका लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनको भनाइ छ । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भोलि बिहान ११ बजे प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।