२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्केटिङ खेल विद्यालयस्तरमा प्रवर्द्धन गर्न सम्झौता

बिहिवार , माघ २४, २०८१

काठमाडौं, २४ माघ । राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच सम्झौता तथा समझदारी भएको हो । 

सम्झौता तथा समझदारी पत्रमा स्केटबोर्डिङ संघको तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासंघकातर्फबाट अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षरपछि राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले यस सम्झौताले स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘यो सम्झौताले स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्‍याउनका लागि ठूलो पुलको काम गर्छ । विद्यालयसम्म स्केटिङ खेललाई लैजानको लागि यसले महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौं,’ उनले भने । 

अध्यक्ष खनालले खेलहरूलाई विद्यालयस्तरबाट सुरु नगर्दा ओलम्पिकबाट मेडल नआउने तथा खेलाडीहरूको प्रदर्शनमा कमी आउने समस्यालाई समाधान गर्ने विश्वास लिए । उनले हरेक खेललाई विद्यालयस्तरबाटै सुरु गर्ने सरकारको लक्ष्यलाई पूरा गरी खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने बताए । त्यस्तै विद्यालय खेलकुद महासंघका अध्यक्ष श्रेष्ठले स्केटिंङ खेललाई विद्यालयस्तरबाट व्यापक रुपमा फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।