२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा अन्तरलायन्स डीजी कप क्रिकेट हुँदै

शुक्रवार , माघ २५, २०८१

भैरहवा, २५ माघ । लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा यही माघ २६ गते शनिबार भैरहवामा प्रभु हेली सेकेण्ड इन्टर लायन्स डीजी कप–२०२५ सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगिताबारे आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष संजोग राज तिवारीले लायन्स क्लबहरुमा आत्मीयता तथा भाईचारा बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए । उनका अनुसार गत वर्ष पनि लायन्स सिद्धार्थनगर प्रोग्रेसिभले नै पहिलो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको छ । शनिबार हुन लागेको प्रतियोगिता दोस्रो संस्करण हो । ‘प्रतियोगिता सञ्चालन गर्न रु. ४ लाख ५० खर्च हुनेछ, यसबाट बचेको रकम हाम्रो क्लबले सामाजिक कार्यमा खर्च गर्नेछ, ’उनले भने ।

शनिबार (एकैदिन) मा सम्पन्न हुने प्रतियोगितामा १२ वटा टीम (लायन्स क्लब) को सहभागीता हुने कार्यक्रम संयोजक तथा जोन चेयरपर्सन सुनिल सेन्चुरीले बताए । सहभागी टीममा लायन्स क्लब अफ भैरहवा वेस्ट, लायन्स बुटवल ईलाइट, बुटवल तिनाउ, भलवारी सिटी, भैरहवा ग्रीन सिटी, सिद्धार्थनगर होलिसिटी, लायन्स सिद्धार्थनगर, सिद्धार्थनगर प्रोफेसनल, सिद्धार्थनगर युथ, सिद्धार्थनगर गौतमबुद्ध, सिद्धार्थनगर प्रोग्रेसिभ र भैरहवा लिगेसी रहेका छन् । प्रतियोगितामा विजेता टीमलाई नगद रु. २५ हजार, कप र मेडल तथा उपविजेतालाई रु. १५ हजार, कप र मेडल पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक सेन्चुरीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिज, बेष्ट ब्याटर, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट इमर्जिङ प्लेअर, बेष्ट डिसिप्लीन टीम र प्लेअर अफ द म्याचलाई पनि पुरस्कार प्रदान गरिनेछ । रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा हुने यो प्रतियोगिता आधारमा हुने आयोजकले जनाएका छन् । प्रत्येक टीमलाई दर्ता शुल्कवापत रु. १० हजार तोकिएको छ । 

प्रतियोगिताको मुख्य प्रायोजकमा प्रभु हेलिकप्टर, इन्स्योरेन्स पाटनरमा सलिको इन्स्योरेन्स, हस्पिटल पाटनरमा लुम्बिनी म्याक्स हस्पिटल प्रा.लि. र मिडिया पाटनरमा भैरहवा टेलिभिजन रहेका छन् । 

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका सचिव भुवन शर्माको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा एरिया–५ का एरिया चिफ अभिनव मयूर कसौधन, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका निवर्तमान अध्यक्ष मिलन विश्वकर्मा, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटीका अध्यक्ष सन्तोष रायमाझी, लुम्बिनी प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मा लगायतले बोलेका थिए । गत वर्ष आयोजित अन्तरलायन्स कप क्रिकेट प्रतियोगिताको उपाधि लायन्स क्लब अफ सिद्धार्थनगर युथले जितेको थियो ।