२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार मोहन चापागाईंलाई दिइने

शुक्रवार , माघ २५, २०८१

बुटवल, २५ माघ । प्रेस चौतारी नेपाल, रुपन्देहीले संगठनका पूर्व जिल्ला अध्यक्ष एवं पूर्व केन्द्रीय उपाध्यक्ष मोहन चापागाईंलाई परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । प्रेस चौतारी रुपन्देहीले यस वर्षदेखि यो पुरस्कार प्रदान गर्न लागेको हो ।

यही माघ २८ गते हुने संगठनको आठौं जिल्ला अधिवेशनको दिन उक्त पुरस्कार प्रदान गरिने प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त पुरस्कार प्रदान गर्नेछन् ।

चौतारीले यसअघि गठन गरेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार उक्त पुरस्कार दिने निर्णय गरिएको हो । चापागाईं सामुदायिक रेडियो प्रसारक संघका पूर्वअध्यक्ष समेत हुन् । उनले सामुदायिक रेडियोहरुको संस्थागत विकासमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

त्यस्तै प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट भैरहवाका शंकर प्रसाद पाण्डे पुरस्कृत हुने भएका छन् । संगठनका केन्द्रीय सदस्य रहेका उनी रुपन्देही एफएमको स्टेशन म्यानेजर हुन् । 

सोही क्रममा दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट रुपन्देहीको देवदहका गोविन्द घर्तीलाई पुरस्कृत गर्ने निर्णय गरिएको संगठनका जिल्ला अध्यक्ष पौडेलले जानकारी दिए । बैठकले संगठनको आठौं जिल्ला अधिवेशनलाई भव्यतापूवर्क सफल बनाउने निर्णय पनि गरेको छ । अधिवेशनको अवसरमा संगठनले प्रकाशन गरेको चौतारी सन्देश नामक स्मारिकाको समेत विमोचन गरिने जिल्ला सचिव केशव भण्डारीले बताए ।