२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

घनश्याम भुसालको दावी : नेकपा एस आशा जगाउने पार्टी बन्छ

शुक्रवार , माघ २५, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • बुटवल, २५ माघ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकले गणतान्त्रिक नेपालको कार्यक्रम र एजेण्डा बोकेको पार्टी खोजेको बताएका छन् । उनले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशा भन्दा बढी निराशा र उकुसमुकुस बनाएको बताउँदै अब कार्यक्रम र एजेण्डा स्पष्ट भएको पार्टीको आवश्यकता रहेको बताए ।

    नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आफूहरु त्यही गणतान्त्रिक नेपालको एजेण्डा बोक्ने क्रान्तिकारी कम्यूनिष्ट पार्टी बनाउने अभियानमा रहेको बताए । उनले जनताको आधारभूत समस्या हल गर्दै आत्मनिर्भर कृषि प्रणालीबाट राष्ट्रिय पूँजीको विकास गर्दै रोजगारीको ग्यारेण्टी गर्न योजना र कार्यक्रमसहितको पार्टीको आवश्यकता रहेको बताए । ‘युवा पलायन रोक्न, आर्थिक सामाजिक विकास गर्न, अब जिम्मेवार क्रान्तिकारीहरु एकजुट हुने बेला आएको छ’ महासचिव भुसालले भने –‘अहिले हामी यही काममा खटिएका छौं ।’

    अगुवा कार्यकर्ताहरु समेत रहेको कार्यक्रममा महासचिव भुसालले संविधानको रक्षाका लागि विद्रोहबाट जन्मिएको नेकपा (एकीकृत समाजवादी) लाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्ने निष्कर्षमा पुगेको बताए। उनले अबको एक वर्षभित्र नेकपा (एस) मुलुकमा आशा जगाउने पार्टी बन्ने उनले दावी गरे । 

    पूर्वमन्त्री समेत रहेका भुसालले आफूहरुले आगामी एक वर्षभित्र गणतान्त्रिक नेपालको स्पष्ट एजेण्डा र कार्यक्रमबाट पुष्टि गर्ने बताए । उनले महाधिवेशनबाट संघर्ष र आन्दोलनबाट पार्टी गठन गर्ने कार्यदिशा पारित गरेकाले आफूहरुसँग मात्रै स्पष्ट एजेण्डा रहेको बताए । उनले अब छिट्टै केन्द्रीय कमिटीको बैठकलगतै राजनीतिमा देखिएको सन्नाटालाई चिर्ने गरी जनताको बीचमा जाने बताए ।

    उक्त अवसरमा महासचिव भुसालले नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला कमिटी सदस्य रामप्रसाद अर्याल, नेकपा (एमाले) निकटको मजदुर संगठनमा क्रियाशिल नेता राजु थापा, वाइसिएल नेता आशिष विक र मेघराज भट्टराईलाई अविर खादा ओढाएर पार्टी प्रवेश गराए । 

    कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडे, प्रदेश सदस्यहरु हिराध्वज शाह, राजेन्द्र प्रसाद पाण्डे, कमल भण्डारी, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङ लगायतको उपस्थिति थियो।