
शुक्रवार , माघ २५, २०८१
भैरहवा, २५ माघ । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमीफाइनल खेलमा तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनल यात्रा तय गरेको हो । अब, उसले माघ २७ गते हुने तिलोत्तमा क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लबबीचको दोस्रो सेमीफाइनलको विजेता टीमसँग माघ २९ गते उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा गर्यो । उसका लागि अमर मिश्रा र समिर अलीले अर्धशतकीय पारी खेले । अमरले ७१ र समिरले ५४ रनको योगदान गर्दा प्रज्वल थापाले २२, अन्तिम थापाले २१, अजयकुमार चौहानले अविजित १८ र दुर्गेश गुप्ताले १२ रन जोडे ।
बलिङमा तिरुपतिका तुलबहादुर थापा र विपिन न्यौपानेले ३–३ तथा रुपेश कुर्मीले २ र सन्दीप मौर्यले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपति ४७ ओभर १ बलमा २ सय ४ रन बनाउँदा अलआउट भयो र उपाधि होडबाट बाहिरियो । उसका लागि एजाजुल हकले ४६, तुलबहादुर थापाले ४१, अर्निको यादवले २५, डेभिड थापाले २०, रुपेश कुर्मीले १७ र कमल विकले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
बलिङमा लुम्बिनी खुकुरीका सेजाद आलम, अमर मिश्रा र अजयकुमार चौहानले २–२ तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १–१ विकेट लिए । खेलमा अमर मिश्रा प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको स–हप्रायोजनमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij