
शुक्रवार , माघ २५, २०८१
चितवन, २५ माघ । भरतपुरमा रहेका चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार (आज) देखि सुरु भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकारले कृषि ऐन जारी गर्ने तयारीमा रहेको बताए । किसानहरुको सुझावलाई आफूहरु कृषि ऐनमा समेट्न तयार रहेको भन्दै मन्त्री अधिकारीले आवश्यक र समय सान्दर्भिक सुझावहरु दिनका लागि आग्रह गरे । ‘सरकारले ल्याउन लागेको कृषि ऐन आएपछि नेपालका कृषकहरुले हामी सक्षम छौं, हामी गरीब भएर तथा खान नपाएर कृषिमा लागेका होइनौ भन्ने भावनाको विकास हुन्छ’ उनले भने, ‘कृषि पेशालाई सम्मानित बनाउने गरी ऐन जारी गर्न लागिएको छ ।’
दूधबाट दही, मोही, घ्यु र कुराउनी मात्रै बन्छ भन्ने आम धारणा भएको भन्दै मन्त्री अधिकारीले दूधबाट धेरै उत्पादनहरु तयार हुन्छ भन्ने बुझ्नुपर्ने बताए । ‘दूधबाट धेरै प्रकारका उत्पादनहरु बन्ने रहेछ, त्यसबाट शरीरलाई कहिल्यै नोक्सानी हुँदैन’ उनले भने, ‘दूधबाट बन्ने परिकार प्रयोग गर्न सकेमा मात्रै पनि हामी दीर्घ जीवन बाँच्न सक्छौँ ।’ पशुपालन र डेरीमा प्रविधि भित्र्याएर उत्पादनमा विविधीकरण गर्न सकेमा किसानहरुको जीवन परिवर्तन हुन सक्ने उनले बताए ।
किसानहरुलाई अत्यन्त पीडा भएको भन्दै मन्त्री अधिकारीले त्यो पीडालाई व्यवस्थापन गर्नका लागि हामी सबैमा इमानदारिताको जरुरी भएको बताए । ‘कृषि कर्म गर्नेहरु पनि तीन तहका सरकारसँग पाएसम्म लिन सक्ने सक्नुहुन्छ’ उनले भने, ‘इमानदारिता कामय गर्न सक्यौं भने कृषि कर्म गर्नेका लागि सरकारबाट राम्रै सहयोग भएको छ ।’
आजदेखि सुरु भएको पोल्ट्री एक्स्पोको बारेमा जानकारी दिँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले पशुपालनमा भित्रिएका आधुनिक प्रविधिहरुको प्रदर्शनी गरिएको बताए ।
दूधको विविधिकरणका लागि आवश्यक पर्ने उपकरण तथा दूधबाट बन्ने परिकारको प्रदर्शनीसहितका ५२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु प्रदर्शनीमा राखिएको बगालेको भनाइ छ । दूध किसानहरुको समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागतमा न्यूनीकरण गरी दुग्धजन्य पदार्थको निर्यात गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रदर्शनी माघ २७ गतेसम्म सञ्चालन हुने उनको भनाइ छ ।
दूधको बजारीकरणमा सहजता होस् भनेर एक्स्पो सञ्चालन गरिएको बगालेले बताए । यस प्रदर्शनीमा डेरी उद्योगका लागि आवश्यक पर्ने सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहार सम्बन्धीका स्टलहरु, पशु औषधि तथा भेटनरी सेवा सम्बन्धीका स्टलहरु, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टलहरु, बैंक तथा बीमा कम्पनीहरु, स्टार्टअप प्याभिलियनलगायतका स्टलहरु रहेका छन् ।
प्रदर्शनी अन्तर्गत कार्यशाला र तालिम, बिटुबी मिटिङ, सफल व्यवसायिक किसान, डेरी उद्यमी आदिको अनुभव तथा सफलताको कथा, पुरस्कार वितरण, डेरीजन्य नयाँ प्रोडक्टको लन्चलगायत कार्यक्रम हुनेछन् ।
प्रदर्शनीको क्रममा शनिबार (भोलि) पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी उद्योग संघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको बीचमा समूहगत छलफल हुने बताइएको छ ।
त्यस्तै, माघ २७ गते आइतबार अन्तर दुग्ध सहकारी संस्थाबीच हाजिरीजवाफ प्रतियोगिता हुने अध्यक्ष बगालेले जानकारी दिए । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा ५० हजार भन्दा बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ ।
चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीलगायतले मन्तव्य बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij