
शनिवार , माघ २६, २०८१
भैरहवा, २६ माघ । भारतको महाराजगञ्जमा यही माघ २७ गते आयोजना हुने दोस्रो नेपाल–भारत मैत्रीपूर्ण मिडिया क्रिकेट प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रेस क्लब, रुपन्देहीका खेलाडी अहिले अभ्यासमा व्यस्त छन् ।
तीन दिनदेखि उनीहरुले सिद्धार्थ नगरपालिका–९, गोनहियामा क्रिकेट खेलको अभ्यास गरिरहेका हुन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्रिकेट खेलमा सहभागीताका लागि प्रेस क्लबका खेलाडी उत्साहित रहेको क्लबका सह–कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ताले बताए ।
लुम्बिनी प्रेस क्लबका सल्लाहकार समेत रहेका टीमका प्रशिक्षक मनोरञ्जन शर्माको निर्देशन र कप्तान कमल रायमाझी र उपकप्तान प्रकाश न्यौपानेको संयोजनमा खेलाडीले अभ्यास गरिरहेका छन् । प्रत्येक दिन बिहान ८ देखि १० बजेसम्म उक्त मैदानमा खेलाडीले पसिना बगाउने गरेका छन् । त्यस्तै अपरान्ह ४ देखि ६ बजेसम्म कडा अभ्यास गराइरहेको प्रेस क्लबका प्रशिक्षक शर्माले बताए ।
बिहान क्रिकेट अभ्याससँगै यसपटक उपाधि कसरी जित्न सकिन्छ भनेर चुस्त रणनीति बनाउने काम पनि भइरहेको प्रशिक्षक शर्माले बताए । तीनदिनको अभ्यास हेरेर प्रशिक्षक शर्माले भारतमा क्रिकेट खेल्ने खेलाडीको अन्तिम नामवाली पनि सार्वजनिक गरेका छन् । जसअनुसार टीमको मुख्य प्रशिक्षकमा शर्मा, टीम कप्तानमा रायमाझी, उपकप्तान न्यौपाने र विकेटकिपरमा राधेश्याम विश्वकर्मा छन् ।
टीमको नियमित खेलाडीमा दीपेन्द्र बडुवाल, भुवन पाण्डे, रबिन्द्र प्रताप गुप्ता, सचिन थारु (चौधरी), भीम भण्डारी, मोहम्मद हबिब, जयकेश हरिजन र झब्बर यादव छन् । त्यस्तै अतिरिक्त खेलाडीमा विष्णु प्रसाद भट्टराई, दीपक घिमिरे र कृष्ण प्रसाद ढकाल छन् । टीम व्यवस्थापकमा शारदा मल्ल र फिजियोमा भेट्रान खेलाडी अरुण ज्ञवाली छन् ।
खेल अभ्यासको अवलोकन गर्न गोनहिया पुगेका सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला) ले लुम्बिनी प्रेस क्लबको टीमलाई सफलताको शुभकामना दिए । ‘अभ्यासलाई निरन्तरता दिनुपर्छ र आगामी दिनमा पनि क्लबले विभिन्न खेल प्रतियोगितामा सहभागीता जनाउनुपर्छ,’यादवले भने ।
आयोजक भारतीय मिडियाको टीमले बुधबार नौतनवामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका विजेताले प्राप्त गर्ने ट्रफी र दुवै मुलुकका खेलाडीका जर्सी सार्वजनिक गरेको थियो । भारतीय मिडियाकर्मीका अनुसार दुवै मुलुकका सञ्चारकर्मीबीच आपसी सम्बन्ध मजबुत तुल्याउने उद्देश्यले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको दोस्रो शृंखला आयोजना गरिएको हो । एकवर्ष अघि पहिलोपटक भारतीय सञ्चारकर्मीको आयोजनामा नौतनवामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
दुवै मुलुकका सञ्चारकर्मीको सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले एक महिनाअघि लुम्बिनी प्रेस क्लबले पनि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा दुई मुलुकका सञ्चारकर्मीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।
भारतीय मिडिया टीमका कप्तान अमित त्रिपाठीले फेब्रुअरी ९ तारिख (आइतबार) बिहान १० बजेदेखि दुवै मुलुकका पत्रकारबीच मैत्रीपूर्ण खेल सुरु हुने जानकारी दिए । उनका अनुसार १५–१५ ओभरको खेल सञ्चालन हुनेछ । जिजेता टीमलाई ट्रफी र खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उक्त प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित उद्यमी र सरकारी अधिकारीको समेच सहभागीता रहनेछ । आयोजकले दर्शक सहभागीता बढाउन उपहार समेत राखिएको जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij