
शनिवार , माघ २६, २०८१
दाङ, २६ माघ । मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दाङ आएका छन् । पूर्वप्रधानमन्त्री देउवालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वागत गरेका हुन् । थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा साँस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लागेको छ ।
महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुनेछ । यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिनेछ । यस्तै, महोत्सवमा साँस्कृतिक प्रतियोगिता एवं थारु लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ ।
थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरुको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिएको छ । महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारुहरु मौलिक भेषभुषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन् ।
महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला हजारौं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरू लगायत थारु समुदायको उपस्थिति रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij