
शनिवार , माघ २६, २०८१
भैरहवा, २६ माघ । रुपन्देहीमा क्रियाशील निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको १८ औं वार्षिक साधारणसभा तिलोत्तमा–५, मणिग्रामस्थित विश्राम वाटिकामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साधारणसभाको सफलताको शुभकामना दिदै प्रदेश सरकारले व्यवसायीहरूको वक्यौता भुक्तानी लगायतका विषयमा प्रदेश सरकारले गम्भीर ध्यान दिएको उल्लेख गरे । उनले चालू आर्थिक वर्षमै अघिल्लो भुक्तानी क्लियर गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले निर्माण व्यवसायीहरूको योगदानले लुम्बिनी प्रदेशको विकासलाई तीव्र गतिमा अघि बढाइरहेको बताए । उनले सरकार निर्माण व्यवसायीहरूसँग सहकार्य गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री ढकालले हाल निर्माण सामग्रीको अस्वभाविक मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई गम्भीर चुनौती निम्त्याएको भन्दै सरकार यसबारे संवेदनशील रहेको बताए । उनका अनुसार मूल्यवृद्धिका कारण निर्माण लागत बढ्नुका साथै विकास परियोजनाहरूमा ढिलाइ भइरहेको छ । त्यसैले प्रदेश सरकारले व्यवसायीहरूको हकहित संरक्षण र निर्माण क्षेत्रमा स्थायीत्व कायम गर्न आवश्यक नीति तथा सहजीकरणका उपायहरू अवलम्बन गर्ने बताए ।
लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मञ्जु भुसालले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रुपन्देही संघ प्रदेशकै प्रमुख निर्माण व्यवसायी संगठन भएको बताइन् । उनले व्यवसायिक गतिविधिसँगै संघ सामाजिक उत्तरदायित्व निर्वाहमा पनि सक्रिय रहेको उल्लेख गरिन् । उनले शववाहन सञ्चालन, विपद् व्यवस्थापन सहयोग, सार्वजनिक संरचनाहरूको निर्माण तथा संरक्षणलगायतका विविध सामाजिक कार्यहरूमा पनि संघको उल्लेखनीय भूमिका रहेको बताइन् ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष स्व. चेतमान श्रेष्ठको स्मृतिमा उनको परिवारलाई सम्मान गरिएको थियो । साथै, संघका संस्थापक कार्यसमिति सदस्यहरू, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, सामाजिक कार्यक्रम संयोजक तथा विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।
साधारणसभामा संघकी अध्यक्ष मञ्जु भुसाल र विशिष्ट अतिथि मन्त्री ढकालले संघको २८ वर्षे इतिहास समेटिएको ‘लुम्बिनी निर्माण स्मारिका’ नामक पुस्तकको विमोचन गरेका थिए । साधारणसभाले निर्माण व्यवसायीहरूको समस्या, अवसर तथा भविष्यका योजनाहरूबारे छलफल गर्दै लुम्बिनी प्रदेशको समृद्धि र दिगो पूर्वाधार विकासका लागि व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको विषयमा जोड दिएको थियो । सभाले पालिकास्तरमा शाखा विस्तार गर्ने र सदस्यता वृद्धि गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij