२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीको पशुपति माविका विद्यार्थीलाई पहिलो पाइलाले दियो न्यानो कपडा

आइतवार , माघ २७, २०८१

भैरहवा, २७ माघ । रुपन्देहीको रोहिणी गाउँपालिका–६ स्थित पशुपति माध्यमिक विद्यालयमा पहिलो पाइला नेपाल बुटवल शाखाले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाको ‘न्यानो माया अभियान’ अन्तरगत शनिबार विद्यालयमा रहेका ३६४ जना विद्यार्थीलाई न्यानोकपडा वितरण गरिएको हो । 

सो अवसरमा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले शैक्षिक सुधारका लागि गाउँपालिकाले भौतिक संरचना सुधारलाई प्राथमिकता दिइएको बताए । उनले पालिकाका हरेक विद्यालयमा सुविधासम्पन्न भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइ निर्माणको चरणमा रहेको र उक्त योजनाहरु पूरा भएपछि आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन गरिने उल्लेख गरे । पहिलो पाइला नेपालले पछाडि परेको बस्तीमा अवस्थित विद्यालयमा आएर गरी तथा विपन्न परिवारलाई कपडा वितरण गरेर मानवीय सेवा गरेकोप्रति उनले धन्यवाद ज्ञापन गरे ।  

गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले सीमित स्रोतसाधनका बाबजुत गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार चुनौतिपूर्ण रहेको बताउँदै पहिलो पाइला जस्तै सामाजिक कार्यमा सक्रिय संस्थाहरुको समेत साथको आवश्यकता औल्याइन् । 

पहिलो पाइला बुटवल शाखाका अध्यक्ष सन्तोष बन्जाडेले अभाव र समस्याहरुका बीचमा गएर संस्थाले मानवीय कार्यमा जोडिदै आएको उल्लेख गरे । प्रथम उपाध्यक्ष तथा न्यानो माया अभियानका कार्यक्रम संयोजक सन्तोष केसी पहिलो पाइला नेपालको इतिहास र वर्तमान, काम कर्तव्यको बारेमा जानकारी गराउँदै अभियानमा जोडिने सहयोग संस्थाहरुलाई समेत धन्यवाद ज्ञापन गरे । 

पहिलो पाइला नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल, रोहिणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे लगायतले बोल्दै सामाजिक र मानवीय कार्यमा थप सक्रिय भएर लाग्न आह्वान गरे ।

कोषाध्यष नरेश न्यौपानेको स्वागत तथा सचिव मनिष खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । संस्थाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा पुगेर गरीब तथा विपन्न परिवारलाई राहत वितरणका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विभिन्न सिर्जनशिल क्रियाकलापहरुमा सहभागीता जनाउँदै आएको जनाएको छ । संस्थामा आबद्ध १ सय बढी सदस्यहरुले स्वतस्फूर्त रुपमा संकलन गरेका सहयोग रकम तथा सामग्रीका साथै संघ–संस्थाहरुबाट उपलब्ध सामग्रीहरु वितरण गर्छ ।