२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रूपन्देही सुपर लिग : उपाधिका लागि वेष्टर्न र लुम्बिनी खुकुरी भिड्ने

सोमवार , माघ २८, २०८१

भैरहवा, २८ माघ । वेष्टर्न क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्लब रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा उपाधिका लागि भिड्ने भएका छन् ।  वेष्टर्नले तिलोत्तमा क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेपछि यी दुई टीमबीच उपाधि रक्षाका लागि प्रतिष्पर्धा हुने पक्का भएको हो ।

खुकुरीले सेमीफाइनलमा तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । वेष्टर्न र खुकुरीबीच मंगलबार उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।

जीतका लागि पाएको ९६ रनको झिनो लक्ष्य वेष्टर्नले २३ ओभरमा ७ विकेटको नोक्सानीमा ९९ रन बनाउँदै पूरा गरी फाइनल प्रवेश गर्यो । उसको जीतमा देव खनालले ३३, रन्जित खड्काले २२ र सन्देश थापाले अविजित १५ रनको योगदान गरे । बलिङमा तिलोत्तमाका विपिन खत्री, हरिशंकर साह र सागर भण्डारीले समान २–२ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमा २८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ९५ रन बनाएको थियो । उसका लागि मनिष थापाले सर्वाधिक ४७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम उपाधि होडबाट बाहिरियो । 

बलिङमा तिलोत्तमालाई सस्तैमा रोक्न वेष्टर्नका रन्जित कुमारले ४, देव खनालले ३, सन्देश थापाले २ तथा नरेन साउदले १ विकेट लिए । खेलमा अलराउण्ड प्रदर्शन गरेका देव खनाल प्लेयर अफ द म्याच घोषित भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाणले जानकारी दिए ।