२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भीम अस्पताल : न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उत्कृष्ट

मंगलवार , माघ २९, २०८१

भैरहवा, २९ माघ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले बिरामीलाई प्रदान गर्ने गरेको उपचार सेवा र अस्पताल सञ्चालनको व्यवस्थापन उत्कृष्ट रहेको पाइएको छ । लुम्बिनी प्रदेशका जिल्ला अस्पतालहरुमध्ये स्वास्थ्य मापदण्डमा ९७ अंकसहित बर्दिया अस्पताल प्रथम र भीम अस्पताल दोस्रो भएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक वर्ष गर्ने न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गतको मूल्यांकनमा सन् २०२४ मा भीम अस्पतालको सेवा तथा व्यवस्थापन निकै प्रभावकारी रहेको पाइएको हो । मूल्यांकन टोलीले ९ सय ३९ वटा सूचकलाई आधार मानेर भीम अस्पतालको स्थलगत मूल्यांकन गर्दा सन् २०२४ मा ९४ प्रतिशत अंक प्राप्त गरेर भीम अस्पतालले आफ्नो सेवा तथा व्यवस्थापनलाई उत्कृष्टमा उभ्याउन सफल भएको हो । विगत केही वर्षदेखि भीम अस्पतालले आफ्ना सेवालाई प्रभावकारी र सुधार गर्दै प्रदेश निर्देशनालयको यो मूल्यांकनमा वर्षेनी प्राप्तांक अंक बढाएको छ ।

‘सीमित जनशक्ति र बिरामीको चाप निरन्तर बढ्दै गए पनि भीम अस्पतालको सेवा तथा व्यवस्थापन निकै प्रशंसनीय छ’, दुईदिने स्थलगत अनुगमनसहितको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको सोमबार सार्वजनिक गर्दै अनुगमन समितिका संयोजक तथा अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारीले भने, ‘२५ बेडको स्वीकृत दरबन्दी जनशक्तिले १ सय बेडमा सञ्चालित अस्पतालमा धेरै विषयमा विशेषज्ञ सेवा प्रदान गर्नु प्रशंसनीय छ ।’ उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन पक्षलाई जिम्मेवार बनाउने, अस्पतालको कमीकमजोरीलाई सुधार गर्दै आगामी योजना प्रभावकारी बनाउनमा सहयोग गर्ने बताए ।

भीम अस्पताललाई बिरामीको चापको आधारमा १ सय बेडको स्वीकृत दरबन्दी अनुरुपको जनशक्तिको आवश्यकता रहेको उनले बताए । डा.तिवारी लुम्बिनी प्रदेश निर्देशनालयबाट अनुगमनका लागि खटिएको टोलीका संयोजक हुन् । अनुगमन टोलीमा ५ सदस्य खटिएका थिए ।

डा.तिवारीका अनुसार, यस खालको अनुगमन तथा मूल्यांकनले अस्पतालको सेवालाई प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन पक्षलाई जिम्मेवार बनाउँछ । अस्पतालको कमीकमजोरीलाई सुधार गर्दै आगामी योजना प्रभावकारी बनाउनका लागि यस खालको अनुगमन मूल्यांकन गर्ने गरिन्छ । समितिले गरेको मूल्यांकनमा भीम अस्पतालमा सिटी स्क्यान, एनआईसीयू, नेत्र सेवा, छालारोग र नाका, कान, घाँटी सेवा न्यूनतम सेवा मापदण्डले गरेको परिकल्पना भन्दा पनि माथि रहेर विशेषज्ञ सेवा उपलब्ध गराएको छ ।

‘ओपीडी विभागतर्फ अधिकांश सेवा विशेषज्ञसहित उपलब्ध रहेको पाइयो’, डा.तिवारीले भने, ‘इमर्जेन्सी सेवातर्फ पनि २४ सै घण्टा एकजना एमडिजीपी चिकित्सकसहित मेडिकल अधिकृतको सेवा उपलब्ध हुने गरेको पाइयो । जिल्ला अस्प्तालमा यो निकै सकारात्मक पक्ष हो ।’

लैंगिक हिंसामा परेका पीडितका लागि अस्पतालमा प्रदान गरिने एकद्वार संकट व्यवस्थापन केन्द्र, बिरामीका लागि कुरुवा घर, अप्रेसन थिएटर, ल्याव, ब्लड बैंक, पिउनेपानीको परीक्षण, फोहोर व्यवस्थापन, स्वास्थ्य जाँचका लागि कुन बिरामीलाई कुन चिकित्सकसँग पठाउने ? भन्नेबारे स्क्रिनिङ कक्ष, फिजियो थेरापी, प्रकोप व्यवस्थापन सवै व्यवस्थित रहेको अनुगमन तथा मूल्यांकन समितिले पाएको छ ।

जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पताल सेकेण्डरी ए लेवलको अस्पताल हो । गत वर्ष यो अस्पतालले यस खालको मूल्यांकनमा ९० प्रतिशत अंक प्राप्त गरेको थियो । अघिल्लो वर्ष ८८ प्रतिशत अंक प्राप्त गरेको थियो ।

अस्पतालकी प्रमुख (मेडिकल सुपरिटेण्डेण्ट) डा.शकुन्तला गुप्ताले उपचारका लागि अस्पतालमा आउने बिरामी सबैलाई सकेसम्म विशेषज्ञ सेवा उपलब्ध गराउन प्रयासरत रहेको जनाउँदै सिमित साधनस्रोतको वाबजुत पनि अस्पतालको सेवा प्रभावकारी रहेको दावी गरिन् । उनले पछिल्ला दिनमा अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुन थालेपछि उपचार सेवा थप प्रभावकारी हुँदै गएको बताइन । उपचार सेवा राम्रो भएपछि पछिल्लो समय अस्पतालमा बिरामीको चाप बढेको छ । औसतमा दैनिक तीन/चार सय बढी बिरामी उपचारका लागि यहाँ आउने गरेको तथ्यांक छ । 

उपचारका लागि अस्पतालमा आउने बिरामी सबैलाई सकेसम्म विशेषज्ञ सेवा उपलब्ध गराउन प्रयासरत रहेको जनाउँदै उनले सीमित साधनस्रोतको बाबजुत पनि अस्पतालको सेवा प्रभावकारी रहेको दावी  गरिन् । ‘यसपटक अस्पतालमा अर्थोपेडिक सेवा पनि आरम्भ गरेका छौं’, डा.गुप्ताले भनिन्–‘यो मूल्यांकनबाट अस्पतालमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै भावी योजना तथा कार्यक्रम बनाइने छ, गरीब तथा विपन्न समुदायले बढीभन्दा बढी उपचार गर्न आउने अस्पताल भएकाले सेवा छिटोछरितो र प्रभावकारी हुनुपर्नेमा सधै सचेत छौं ।’

अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्त कुमार शर्माले सबैको प्रयासले यो सफलता हासिल गरिएको जनाए । ‘अझै पनि थप सेवा दिनका लागि हामी लागिपरेका छौं, यसपछिका अस्पतालमा भएका विकासको तुलनामा भीम पछि परे पनि सबैको साथ भए यसको विकास हुनेछ’उनले भने ।

‘हामीले टीमवर्कमा विश्वास गर्छौं’, उनले भने–‘अहिले प्रदान गरिरहेका सेवालाई अझैँ प्रभावकारी बनाइ थप गर्दै लैजानुपर्छ । यसका लागि हाम्रो टीमले निरन्तर काम गर्नेछ ।’ एकजनाको प्रयासले अस्पताललाई सबैको भरोसायोग्य बनाउन नसकिने जनाउँदै उनले यसका लागि सबै विभागले उत्तिकै काम गर्नुपर्ने जानकारी दिए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले विगतमा खस्किरहेको अस्पताल अहिले उत्कृष्टतातर्फ अघि बढीरहेको जनाए । ‘अहिले यहाँ उपचारमा आउने बिरामी उपचारपछि सन्तुष्ट छन्, यो राम्रो सन्देश हो । यसलाई बचाइ राखेर अझँै राम्रो बनाउँदै लैजानुपर्छ,’उनले भने । 

भैरहवा क्षेत्रको सबैभन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको अस्पताल ५० शैयाको सूचीकृत रहे पनि १ सय ७ शैयाबाट सेवा प्रदान गर्दै आएको छ । अस्पतालको सेवाहरु विस्तार हुँदै जाँदा स्वास्थ्य सेवा लिनेको संख्यामा वृद्धि भएको छ  ।