
बुधवार , माघ ३०, २०८१
लुम्बिनी, ३० माघ । रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इण्डो–नेपाल क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । यही फागुन ३ (१५ फेब्रअरी) बाट सुरु हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको सहभागीता रहने आयोजकले जानकारी गराएका छन् ।
स्थानीयस्तरबाटै खेलाडीलाई प्रोत्साहन गरी क्रिकेट खेलप्रति रुची जगाउने उद्देश्यले ‘लुम्बिनी प्रमियर लिग–८’ को नामले प्रतियोगिता हुन लागेको रिस्पोन्स टीम लुम्बिनीका संयोजक जमसंद खानले बताए । उनले अहिले हुने प्रतियोगिता आठौं संस्करणको रहेको जानकारी दिए ।
प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगरलगायत जिल्लाबाट समूह दर्ता भएको आयोजक रिस्पोन्स टीम लुम्बिनी संयोजकले एजाज खानले जानकारी दिए । नेपालका विभिन्न स्थानबाट टोलीले प्रतियोगितामा भाग लिने खानले बताए ।
टेनिस बलले ‘नकआउट’ आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगितामध्ये पर्दछ । यसपटक प्रतियोगिताको पुरस्कार राशी पनि बढाइएको संयोजक खानले बताए । पहिलो पुरस्कार रू. २ लाख ५० हजार र दोस्रो पुरस्कार रू. १ लाख ५० हजार तोकिएको संयोजकले एजाज खानले जानकारी दिए । त्यसै गरी, ‘बेस्ट बलर’, ‘बेस्ट ब्याटर’, ‘म्यान अफ दी म्याच’, ‘गेम चेन्जर’, अनुशासित टोलीलगायत सेमीफाइनलमा पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको व्यवस्था रहेको रहेको छ ।
टीमका संयोजक ईमरान खानका अनुसार करिब रू २० लाख खर्च लाग्ने प्रतियोगिताका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका एवं स्थानीय दाताबाट सहयोग संकलन गरिएको छ । त्यस्तै लुम्बिनी खेलकुद परिषद्सँग पनि बजेट माग गरिएको भए पनि सहयोगको कुनै ठोस निर्णय भइनसकेको ईमरान खानले बताए । विगतमा रात्रीकालिन इण्डो नेपाल प्रतियोगिता गरेर सफलतासँगै चर्चा कमाएको स्मरण गर्दै खानले यसपटकको प्रतियोगिता निकै रोचक हुने भन्दै सबैलाई उपस्थितिका लागि आग्रह गरे ।
विगतदेखि नै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यस रिस्पोन्स टीम लुम्बिनीले प्रत्येक वर्ष इण्डो नेपाल क्रिकेट प्रतियोगिता गर्दै आएको छ । १२ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको आगामी शनिबार पूर्वमन्त्री भरत कुमार शाहले उद्घाटन गर्नेछन् । यस्तै पूर्व प्रदेश सांसद फखरुद्दीन खाँ, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजनसहितका सामाजिक, राजनीतिक तथा खेलप्रेमी अतिथिहरुको उपस्थिति हुने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij