२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य

बुधवार , माघ ३०, २०८१

पाल्पा, ३० माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा पाल्पाको रानीमहलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताएका हुन् ।

‘लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेका छन् । तर, केही योजनाहरू अपेक्षित रूपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ’उनले भने,‘यी समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ ।’

बुटवल–नारायणघाट सडकखण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरु चाँडो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको उनले बताए । लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरू गण्डकी प्रदेशमा निर्यात हुने गरेको, यसको थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको धारणा राखे । साथै, गण्डकी प्रदेशका उत्पादनहरूलाई लुम्बिनीमा बजारीकरण गर्दै व्यापार प्रवद्र्धन गर्न सकिनेमा पनि उनले जोड दिए ।

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै दुवै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताउँदै उनले यो बैठक दुवै प्रदेशको आर्थिक तथा विकास समृद्धिका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । कानून निर्माणको सन्दर्भमा प्रदेशस्तरमा एकरूपता ल्याउने बारेमा समेत उनले धारणा राखे । 

संविधान अनुसार प्रदान गर्नुपर्ने अधिकारहरू प्रदेशलाई हस्तान्तरणका लागि पनि प्रदेशहरुको बीचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको उनको भनाइ छ । केही आवश्यक कानूनहरूको निर्माण प्रक्रिया अघि नबढ्दा विभिन्न जटिलता उत्पन्न भएको भन्दै उनले अन्तर प्रदेश समन्वयात्मक बैठकले यी समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने विश्वास व्यक्त गरे ।