
आइतवार , फाल्गुण ४, २०८१
भैरहवा, ४ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु भएको छ । आइतबारदेखि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल सुरु भएको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा रुपन्देहीको टीमले पाल्पा जिल्लाको टीमलाई १० विकेटले पराजित गर्दै जीत निकालेको छ । जीतका लागि पाएको ७४ रनको झिनो लक्ष्य रुपन्देहीले १३ ओभरमा ७७ रन बनाउँदै सहजै जीत निकाल्यो । उसको जीतमा मनिष थापाले अविजित ३८ र मिर्नाल गुरुङले नटआउट ३५ रनको योगदान गरे ।
यसअघि टस जितेर ब्याटिङ गरेको पाल्पाले निर्धारित ५० ओभरको खेलमा २३ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७३ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सन्देश थापाले ६ ओभर ४ बलमा ३ मेर्डनसहित १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, विप्रसन केसीले ३ तथा कृष्ण कार्की र रमेश कुर्मीले १–१ विकेट लिए ।
पाल्पाका नरबहादुर सार्कीले ४० र नविन भण्डारीले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले हार व्यहोर्यो । खेलमा रुपन्देहीका सन्देश थापा प्लेयर अफ द म्याच भए ।
यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुको टीमलाई ३० रनले पराजित गर्दै जीत हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीको टिमले निर्धारित ५० ओभरमा ४६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका लागि सम्राट भुसालले ४२, रन्जितकुमार खड्काले ३५, इकलाख वारिसले १९ र ओमकार यादवले १६ रनको योगदान दिए । बलिङमा कपिलवस्तुका राज अग्रहरीले ३, मोहम्मद हुसेन गद्दी, प्रयासदेव गैरे र शिव कुँवरले समान २–२ तथा महेश भरले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको कपिलवस्तु ४७ ओभरमा १ सय ४१ रन बनाउँदा अलआउट भयो र हार व्यहोर्यो । उसका लागि शिवशकुरमा मौर्यले २०, प्रतीक भट्टराई र रौनक श्रीवास्तवले समान १७–१७, रामजन अली धुनिया र शिव कुंवरले १४–१४ तथा राज अग्रहरीले १० रन बनाए पनि जीतका लागि पर्याप्त भएन । बलिङमा नवलपरासीका राजेन्द्रबहादुर बम, ओमकार यादव र शिशिर थापाले समान ३–३ तथा इकलाख अहमदले १ विकेट लिए । खेलमा राजेन्द्रबहादुर बम प्लेयर अफ द म्याच घोषित भए ।
यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोटका लागि जिल्लास्तरको छनोट खेल सुरु भएको हो ।
रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टीम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij