
आइतवार , फाल्गुण ४, २०८१
दाङ, ४ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।
प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची तयार भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।
प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij