२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री ओली दाङ आउँदै, लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने

सोमवार , फाल्गुण ५, २०८१

दाङ, ५ फागुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार (आज) बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।  

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रदेश सभाको बैठकलाई विशेष सम्वोधनपछि नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।