२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

क्रिष्टिना ब्यूटी केयरले मनायो १५ औं वार्षिकोत्सव

सोमवार , फाल्गुण ५, २०८१

बुटवल, ५ फागुन । बुटवलको होराईजनचोक देवीनगरमा रहेको क्रिष्टिना ब्यूटी केयर एण्ड ट्रेनिङ सेन्टरले आफ्नो १५ औं स्थापना दिवस मनाएको छ । सेन्टरले आइतबार १५ औं वार्षिकोत्सव तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको हो । 

सो अवसरमा सेन्टरबाट विभिन्न चरणका तालिम लिएका तीन दर्जन बढी विद्यार्थीहरुलाई तालिम पूर्णताको प्रमाणपत्र वितरण गरिएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई कुनै न कुनै प्रकारले आत्मनिर्भर बनाउनु आजको आवश्यकता भएको बताइन् । उनले सीप सिकेर महिलाहरु आत्मनिर्भर हुनुपर्ने उल्लेख गर्दै नगरपालिकाले महिलाको सीप र दक्षता विकासका लागि पन्चेबाजा, बत्ती कात्ने, अचार, सिलाईकटाई, ब्यूटीसियन, जुत्ताचप्पल बनाउनेलगायतका तालिमहरु प्रदान गर्दै आएको बताइन् । उनले महिलाले आफ्नो दक्षताको विकास गरेमा कसैको अगाडि हात पसार्नुपर्ने समस्या नआउने बताइन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जलप्रसाद कसजुले महिलाहरुले सीपको विकास गर्नुका साथै उद्यमी बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रबन्ध सञ्चालक÷प्रिन्सिपल सुनिता अर्यालले महिलालाई आत्मनिर्भर बनाउन र सीप सिकाउनका लागि क्रिष्टिनाले ठूलो भुमिका खेल्दै आएको बताइन् । उनले १५ वर्षको अवधिमा सयौं महिलाहरुलाई दक्ष बनाएको उल्लेख गर्दै सीप सिकाउँदै रोजगारको अवसर समेत दिएको बताइन् । 

सञ्चारकर्मी सन्जु पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नेपाल ब्यूटीसियन संघ लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका सह–सचिव झविन्द्र देवकोटा, सिद्धार्थ उद्योग वणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य मिना पन्थी, चौपारी टोल विकास संस्थाका अध्यक्ष जुनु अर्याल, सहेली ब्यूटीपार्लरका पार्वती सेन्चुरी, वयल टेन प्रोफेशनलका प्रतिनिधि विष्णु घिमिरे, विद्यार्थी आरजु कुमाललगायतले क्रिष्टिनाले महिलालाई आत्मनिर्भर बनाउन गरेको सहयोगको प्रशंसा गर्दै दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।