२०८२, कार्तिक १६ गते

Nov 02 2025 | २०८२, कार्तिक १६ गते

शिक्षा शाखा प्रमुखमाथि आक्रमण गरेको भन्दै वडाअध्यक्षमाथि कारवाहीको माग

सोमवार , फाल्गुण ५, २०८१

  • 715
    Shares
  • 715
    Shares
  • भैरहवा, ५ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधु प्रसाद घिमिरेमाथि आक्रमण गरी घाइते बनाएको भन्दै वडाअध्यक्षमाथि कडा कारवाहीको माग गरिएको छ । रोहिणी–२ का अध्यक्ष करम हुसेन खानले अप्रिय गालीगलौजसहित भौतिक आक्रमण गरी घिमिरेलाई घाइते बनाएको भन्दै यो घटनाप्रति गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण बनाएको जनाएका छन्।

    ‘सोमबार कर्मचारीहरुद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘आज मिति २०८१/११/५ गते दिउँसो १२ः१५ बजे यस रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई आमन्त्रित गरी बैठकमा सहभागीता जनाउनुभएको हो । वडाअध्यक्ष करम हुसेन खानले बारम्बार कर्मचारीहरुलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ ।’

    यस परिस्थितिमा कुनै राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने कार्यले अत्यन्तै मर्माहत बनाएको विज्ञप्तीमा उल्लेख छ । ‘कार्यालय समयमै कर्मचारीहरुमाथि आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य हो, सम्पूर्ण गाउँपालिकाका कर्मचारीहरु यस निन्दनीय कार्यको घोर भत्र्सना गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

    कर्मचारीहरुले घटनाको दोषी उपर कडा कारवाही गरी गाउँपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका कामहरु सञ्चालन गर्ने वातावरण नबनेसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएका छन् । ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं, ’विज्ञप्तीमा उल्लेख छ ।

    यता रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले भने गाउँ शिक्षा समिति एकलौटी रुपमा पुर्नगठन गरिएपछि सोही विषयमा बैठकमा शिक्षा शाखा प्रमुखलाई बोलाएर यसबारे स्पष्ट पार्न आग्रह गरिएको प्रतिक्रिया दिए । बैठकमा चर्काचर्की र धकेलाधकेल भएको उनले स्वीकारे । उनले गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको बताए ।