२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : दाङद्वारा बर्दिया पराजित

मंगलवार , फाल्गुण ६, २०८१

भैरहवा, ६ फागुन । दाङले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा जीत निकालेका छन् । मंगलबार भएको खेलमा दाङले बर्दियालाई ५४ रनले पराजित गर्दै जीत निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गरेको दाङले निर्धारित ५० ओभरमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १६ रन बनायो । दाङका लागि करण जीएमले २३ र सुशान्तसिंह थापाले २२ रन बनाए । बलिङमा बर्दियाका सनम बुढा र अनुल कँडेलले ३–३, नितेश न्यौपानेले २ तथा सौगात खत्री र निर्मल गुरुङले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बर्दिया २५ ओभर ५ बलमा ६२ रन बनाउँदा अलआउट भयो । उसका लागि केशव विष्टले १३ र हेमन्त आचार्यले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिमले हार व्यहोर्यो । बलिङमा दाङका बीरबहादुर घर्ती, दिनेश बोहरा र तुलबहादुर थापाले समान ३–३ विकेट लिए । खेलमा दाङका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम छनोटका लागि जिल्लास्तरको छनोट खेल सुरु भएको हो । 

रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टीम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टीम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए ।